गेथाती

मैले कस्तो कविता लेखुँला

अग्ला – अग्ला पहाडहरूको निधारमा
घामको टीका टल्किनु अगावै
गोरुका दाम्लोहरूलाई
सुताएर उनिउँको तन्नामा
जब जोत्न थाल्छ बारी – बाबाले ।

“उँदो भाइ उँदो तल सिया हेर भाइ
लौ स्याब्बास है– चुलबुल, सरकार”

एक हल गोरु नारेर
बारीको छेउ हाल्दै गरेको बाबा
मध्य भागमा पुगेपछि
गालाको नहरमा बगिरहेको पसिना पुछ्दै
हलो छोडेर थचक्क बसे बारीको डिलमा ।

बुढेसकालमा
बैँसको बल सम्झे कि
या सम्झे अमेरिका पुगेको छोरो ।

“हे ~ साइँला बरै, हे ~ लाला बरै
हे ~ न्याहुली रुन्छ न्याहु – न्याहु,
सुनसान बनमा मयालै ।
हे~ उराठ लाग्ने वनपाखामा,
उराठै जाग्ने मनमा मयालै ।”

चेमनाले सजिसजाउ
फूलथुङ्गे झुम्के टोपी लाएको छोरो
बोकेर जाली बुनेको डोकोमा
गुनगुनाउँदै साइँलाबरै भाका
गाई, बाख्रा चराउँदै गरेकी
डाँडाघरकी कान्छी भाउजूको
आँखामा जमेको हिउँ पग्लियो

एक्लो वनमा
माइती घर सम्झिन् कि
या सम्झिन् इजरायल पुगेको श्रीमान् ।
०००

प्याउलीसँग मेटेरी लाउँदै
बसन्तमा गुराँसको कोसेली लिएर
सर्माउँदै उभिएको पहाडसँग
कञ्चन रुमालमा
सम्झनाका अक्षरहरू रङ्गाउँदै
मुस्कान साटिरहेकी चमेली भान्जी
बादल चिच्याउँदा
फ्रेमको रुमाल भुँइमा खसाल्दै तर्सिन्छिन् ।

प्रतीक्षामा ढल्केको
आधी जोवन सम्झिन् कि
या सम्झिन् कार्गिलमा पुगेको लाहुरे प्रेमी ।
०००

र, म पनि झस्किन्छु
बाजेले बुनेको
माछीकाँडे मान्द्रोमाथि बसेर
रोकेर कोर्दै गरेको कविता ।

अब आउने बाँकी समय
मैले कस्तो कविता लेखुँला ?
आँसुले भिजेको गाउँमा
वनमारा झाङ्गिएको कविता लेखुँला कि
या लेखुँला सुनगाभाझैँ हाँसेको गाउँको कविता ?
०००

रोल्पा

TAGS: कविता समीप बैरागी