गेथाती

कथा : मैनाको ऐना

खेमराज शर्मा
६ मंसिर २०८०, बुधबार

मैना बाउ–आमाकी एक्ली छोरी थिई अनि तीन भाइ दाजुहरूको एक्ली बहिनी पनि । मैनाको जन्मले शिव र पार्वतीको गृहस्थीमा पूर्णता प्रदान गर्‍यो । मैनाका बाउआमाले उसलाई ‘मैना’जस्तै राम्री देख्न थाले र उसको रेखदेख पालनपोषणमा ध्यान दिन थाले । छोरीविनाको गृहस्थीले शोभा र पूर्णता पाउँदैन भन्ने मान्यता भएको परिवारमा छोरीको जन्मले खुसी नजन्माउने त कुरै थिएन ।
वर्ष र महिनाहरू बित्दै गए, मैना पनि हुर्कँदै गई । मैना उमेरले ३ वर्ष पुग्दा पनि बोलिन । उसका बाउआमाले त ठानेका थिए– मैना वनकी मैना चरीजस्तै सुन्दर र बोलक्कड होओस् । तर ‘मन ताक्छ मूढो, बञ्चरो ताक्छ घुँडो’ भनेझैं भयो । पटक्कै बोली नफुरी लठ्यौरीको सङ्केत देखिएकाले शिवपार्वतीको हर्ष र खुसीमा तुषारापात भयो । देखाइमा मैना सामान्य भए पनि बोली नै नभएपछि के काम ? उसका बाउआमा मैनाको भविष्य सम्झेर सुर्ताको पोखरीमा डुब्न थाले ।

मैना पाँच वर्ष पुगेपछि केही बोल्न थाली तर शब्द प्रष्ट नभएर लाथ्रे ।

आवाजमा नाकेस्वर र लाथ्रे शब्दका कारण ऊ बोलेको राम्ररी बुझिदैनथ्यो । केही सुस्त मनस्थिति र अस्पष्ट स्वर भए पनि मैनालाई घरमा सबैले माया गर्थे । स्कुल पढ्ने उमेर भए पनि अवस्थाको ख्याल राखेर बाउआमाले पढ्न पठाएनन् । दाजुहरू स्कुल जान्थे उसले भने घरमा सानोतिनो काम गरेर आमालाई सघाउँथी ।

समयले मैनालाई किशोरावस्थामा पुर्‍यायो । बैंस चढेपछि लाटो पनि बाँठो बन्छ र राम्रो देखिन्छ भन्छन्, त्यस्तै भयो मैनालाई पनि । लठेब्री मैनालाई पनि जवानीले ढपक्कै ढाक्यो । उसमा शारीरिक र मानसिक परिवर्तन भयो । लाटी भनेर बेवास्ता गर्ने छिमेकीहरू उसको रूप र बैंसको प्रशंसा गर्न थाले । अब मैनाले नराम्रा र पुराना कपडा लगाउन छाडी । उसले नयाँ र राम्रा कपडा माग्न थाली बाउसित । त्यस्तै श‍ृङ्गारका सामान माग्न थाली आमासित ।

आफ्नो लवाइखवाइबारे बेवास्ता गर्ने मैनाले सरसफाइ गर्न थाली । पटकपटक ऐना हेर्दै गिजासम्मका दाँत देखाएर ङिच्च हाँस्न थाली, मानौं उसले ऐनाभित्रको अर्को मान्छेसित कुरा गर्दैछे । गाउँघर कतै पनि नहिड्ने मैना अब त जताततै उड्न थाली ।
घरमा आफूले गर्दै आएको काम पनि गर्न छाडी । मैना घरमा आएपछि सरासर सुत्ने कोठामा पुगेर ऐना हेरेर एक्लै पनि खितिति हाँस्थी । तन्नेरी केटाहरूलाई पनि देखेपछि त्यस्तै गरी हाँस्थी ।

मैना उमेरले छिप्पिदै गई, उसमा पुरुषप्रतिको आकर्षण बढ्दै गयो । केटाहरूको नजिक बस्न थाली । मैनाले आमाले अह्राएको पनि नटेर्ने भई । आमालाई समेत गिज्याउन र हप्काउन थाली । आमासित एउटै ओछ्यानमा सुत्दै आएकी मैना अलग्गै सुत्न थाली । धेरै समय एकान्तमै बिताउन थाली । मैनाको व्यवहारमा आएको परिवर्तनले उसका बाउआमालाई चिन्तित बनायो । केटा खोजेर बिहे गरिदिऊन् भने लठेब्री केटीलाई पो कसले लान्थ्यो र ! बिहे नगरेरै राख्दा विराम गर्ली भन्ने डर । ‘नहुँदा एक शोक, हुँदा दुई शोक’ भने झैं भयो शिवपार्वतीलाई । मैनाको जन्मले खुसी र पूर्णता भित्र्याएको शिवपार्वतीको गृहस्थीले उसैलाई बोझ देख्न थाल्यो ।

मैनाले ऐना नछोड्ने भई । यताउता जाँदा पनि साथमा ऐना लिएरै जान थाली । पटकपटक मैनाको आँखा अगाडि खडा हुन्थ्यो ऐना । यसरी मैनाको जीवन र जोवनमा ऐना अभिन्न अङ्गजस्तै बन्न पुग्यो ।

सुत्दा समेत ऐनालाई समाएर सुत्ने भई मैना । घरमा कसैलाई ऐना चाहिएर केही क्षणको लागि माग्दा समेत दिन्नथी । घरमा उसलाई मैना नभनेर ऐना भनेर बोलाउन थाले । मैना अलि अटेरी गरेपछि ‘तेरो ऐना फुटाली दिउँला’ भनेपछि मात्र खस्रक्क पर्थी । एक प्रकारले भन्ने हो भने ऐना मैनाको जीवन नै बनेको थियो ।

शिवपार्वतीको घर छेउमा विष्णु नाउँ गरेको केटो बस्दथ्यो । ऊ पढ्न छोडेर ट्रेक्टर चलाउने काम थालेको थियो । विष्णु अलि उपद्र र आवारा स्वभावको तन्नेरी थियो । उसका बाउ ऊ तीन वर्षको छँदै बितिसकेका थिए । उसले आमालाई पटक्कै टेर्दैनथ्यो । खुस लागेपछि मात्र ट्रेक्टर चलाउँथ्यो नत्र बरालिएर गाउँघर मात्र डुल्ने गर्दथ्यो । खैनी चुरोट, जाँडरक्सी उसका प्रिय वस्तु थिए । कमाएको पैसा खाएरै उडाउँथ्यो ।

विष्णु मैनालाई खुब हेर्दथ्यो, त्यसैगरी मैना पनि उसलाई देखेपछि भुतुक्कै हुन्थी । विष्णुले मैनालाई मोबाइलबाट गाना सुनाइदिन्थ्यो अनि अश्लिल भिडियोसमेत देखाइदिन्थ्यो । मैना पनि विष्णुलाई च्याप्प समाउन पुग्थी ।

एकदिन घरमा कोही नभएको मौका पारी विष्णुले मैनालाई ट्रेक्टरमा चढाएर गाडतिर लग्यो । अनि त्यही अश्लिल भिडियो देखाएर मैनाको जोवनसित दिनभरि खेल्यो । मैनाको जेठो दाजुले थाहा पाएर बहिनीको खोजीमा निस्कियो । विष्णुले आफ्नो छेउमा राखेर अंकमाल गर्दै गाडी चलाउँदै आएको देख्यो । विष्णुले मैनाको दाजुलाई आउँदै गरेको टाढैबाट देख्यो । विष्णु गाडीबाट ओर्लेर नदेख्ने गरी भाग्यो । दाजुले मैनालाई पिट्दै घरमा पुर्‍यायो । बाउआमाले पनि मैनालाई निकै गाली गरे ।
मैनाले खाना पनि खाइन, ऐनालाई च्यापेर रुँदै सुती कोठामा ।

भोलिपल्ट बिहान सबेरै उठेर दैलोकुचो गर्न थालिन् पार्वती । राम्रोसित उज्यालो भएको थिएन । मूलढोकोका अगाडि सेतो वस्तु टल्कियो । टर्च लगाएर हेर्दा फुटेर टुक्राटुक्रा परेको ऐना देखिन् पार्वतीले । फुटेको ऐना देखेर पार्वतीको मनमा जौंतिल पाक्न थाल्यो । उनले बुढालाई उठाएपछि दुबैजना मैना सुत्ने कोठमा गएँ । मैनाले अत्यन्तै माया गर्ने ऐना भने भित्तामा झुण्डिएको थियो । मैनाले एकछिन पनि नछाड्ने ऐनामा पार्वतीले हेर्न पुगिन्, दुबै आँखाबाट आँसुको धारा बगाएकी उमेरले चाउरिएकी बुढी मान्छेको अनुहार देखायो ऐनाले । मैनाका सबै कपडा कोठामै थिए । ओछ्यान पटाएर राखिएको थियो । दुबै बुढाबुढीहरू भित्ताको ऐनामा हेर्दै रुन थाले ।
०००
घोडागाउँ, रोल्पा

TAGS: कथा