रोल्पामा क्रियाशील साहित्यिक संघसंस्थाहरुले संयुक्तरूपमा कार्यक्रमको आयोजना गर्ने भएका छन् । दशैतिहारको सन्दर्भमा गाउँ फर्किएका साहित्यिक व्यक्तित्वहरुसँग समेत साक्षात्कार गर्ने उद्देश्यसहित आयोजना हुने कार्यक्रममा विभिन्न सिर्जना वाचन तथा साहित्यिक विमर्श हुने बताइएको छ ।
शनिबार रोल्पाको लिबाङमा बसेको संयुक्त बैठकले आउँदो कार्तिक ३ गते उक्त एकदिने कार्यक्रम गर्ने जसको आवश्यक स्वरुप तथा कार्ययोजना निर्माण र संयोजनका लागि एक समिति निर्माण गरिएको छ । लुम्बिनी वाङ्मय प्रतिष्ठान, रोल्पा शाखाका अध्यक्ष ओम पन्छीको संयोजकत्वमा विभिन्न ६ वटा साहित्यिक संघसंस्थाको प्रतिनिधित्व रहेको छ । जसमा ललित साहित्य परिषद्, रोल्पाबाट अध्यक्ष के.बी. विरही, राप्ती साहित्य परिषद् रोल्पा शाखाबाट अध्यक्ष कविता उपाध्याय, नेपाल मुक्तक प्रतिष्ठान रोल्पा शाखाबाट अध्यक्ष देवी गुरुङ, प्रगतिशील लेखक संघ रोल्पा शाखाबाट अध्यक्ष कृष्ण निर्जन, नेपाली लेखक संघ रोल्पा शाखाबाट अध्यक्ष कृष्णप्रसाद न्यौपाने समितिमा रहने निर्णय गरिएको छ । समितिले कार्यक्रमको मोडालिटी, कार्यक्रम स्थल, सहभागिता लगायतको कार्ययोजना निर्माण गरि आवश्यक समन्वय गर्नेछ ।
सदरमुकाम बाहिर रहेका रोल्पाली साहित्यिकारहरुलाई पनि निम्तो गर्ने निर्णय भएको छ । जसको प्रचारप्रसारका लागि सामाजिक सञ्जालको भरपूर उपयोग गर्ने र सहभागिताका लागि कसैलाई पत्राचार नगर्ने बताइएको छ । उक्त दिन बिहानको खाना समेत कार्यक्रम स्थलमै खाने गरी तय गरिएको साहित्यिकार डी.बी. टुहुरोले जानकारी दिनुभयो । कार्यक्रमका लागि कसैलाई पनि अनिवार्य नगराउने, कसैलाई सानो वा ठूलोको रुपमा प्रस्तुत नगरिने र सहभागी सबैले कम्तिमा पनि तीनवटा सिर्जना सुनाउनुपर्ने बताइएको छ ।
शनिबार आयोजित संयुक्त बैठकको साहित्यिकार डी.बी. टुहुरोले संयोजन गर्नुभएको थियो । बैठकमा निवर्तमान मेयर तथा साहित्यकार पुरण क्षेत्री, आयोजक साहित्यिक संस्थाका प्रमुखहरु, नेपाली लेखक संघका केन्द्रीय कोषाध्यक्ष दामु मर्सिफुल, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नवीन लोचनमगर, पत्रकार महासंघका पूर्वअध्यक्षहरु काशीराम डाँगी, खेम बुढामगर, महेश न्यौपाने, साहित्यिकार गोकर्ण प्रसाद पुन लगायतको उपस्थिति रहेको थियो ।
