गेथाती

ताराहरूको शहर

याङो श्रो मगर
१६ आश्विन २०८०, मंगलवार

ए काइला !
कहाँ जान ला‘को ?
ए … तिमीले भनेको ताराहरूको शहरमा ।
त्यहाँ त माइलो, साइलो, राइलो, कान्छो,
माइली, साइली, काइली, राइली कान्छी त
जन्मनुअघि मारिन्छ्न् ।


राम्ररी गए है बा !
सबथोकको मोल हुन्छ बा !
हावासम्म पनि किन्नुपर्छ नि
तिम्रो हेराइको मोल
सुनाइको मोल
पिडौलाको मोल
अ.. तिम्रो रुपरङ्गदेखि
सारा अङ्गअङ्गको मोल तोकिएको हुन्छ बा !


काइला तिम्रो पाखुरी र पिठ्युँको मोल
साह्रै कमजोर छ
तिम्रो इमानी बोलीले
आफैलाई मुर्गा बनाउनेछ
ताराहरूको शहरमा तिमी बिक्नुछ,
आफ्नो मूल्यको स्टिकर निधारमा चिप्काई
विज्ञापन गर्न सिक्नुछ, बा !

अँ.. सुन त
ताराहरूको शहरमा
चरीलाई उड्न
कुकुरलाई भु्क्न
इजाजत चाहिन्छ बा !

०००