गेथाती

अयोग्य नजरमा अयोग्य म 


२० आश्विन २०८०, शनिबार

बेथितिको भारीले थिचेपछि

फुलेका थिएनन् रहरका फूलहरू

जीवनको बगैचामा ,

उडेका थिएनन् आशाका चङ्गाहरू

मनको आकाशमा ।

बाध्यताकाे डाेरीले बाँधिएपछि

उकुसमुकुस खाडल पुर्न

सपनाको चाङ बोकेर उभिएँ

लोकसेवाकाे अक्करे पहाड अघि ।

विडम्बना !

सपनाका कोपिलाहरु फक्रिनु अगावै

भिरेर – अयोग्यको बिल्ला

उखेलिनुपर्‍यो 

आशाको मैदानबाट – लिखितको नाममा

बेइमानी समयका 

रित्ता – रित्ता बगलीहरुबाट ।

लोकसेवा त

होइन रहेछ – आगो निभेका चुलाहरुको 

होइन रहेछ – अँध्यारा झुपडीहरुको ।

दोषी रहेछन् –

उदात्त सपना देख्ने यी आँखाहरू

मूर्ख रहेछ –

देशको लागि सतिसालझैँ उभिन खोज्ने यो छाती ।

                    ०००