१)
जीवन सारा जगत
सम्झेर ल्याउँदा हजुर,
लाग्दैछ आज फगत !
२)
आकाश धर्ती सबमा
एकमात्र तिमी पियारी,
अमूल्य सारा जगमा !
३)
नशालु तिम्रो नजर
पलपल मलाई तान्दैछ,
लोभलाग्दो त्यो अधर !
४)
उज्यालो जुनेली रातमा
हातमा हात राखेर,
भुलियो मायाको साथमा !
५)
गाजा भाङ चरेस
हानिकारक हुन्छ जीवनमा,
नखानू कहिल्यै हरेश !
६)
जानेर या नजानेर
ऊ भइदियो टाढा,
मुटुमा छुरा हानेर !
७)
स्वार्थीको छ धुइरो
मुहारमा कुटिल मुस्कान,
हातमा छ सुइरो !
८)
मायामा विष भरेर
हिड्यो ऊ सुटुक्क,
आँखामा नहर खनेर !
९)
चिसो अन्धकार रातमा
झुम्दैछन् मदहोस मान्छेहरू,
आआफ्नै सुर मातमा !
१०)
सडक र सदन
नेताहरू सबै कलाकार,
मुना र मदन !
११)
आमालाई दिएर घात
मख्ख छन् राष्ट्रप्रेमीहरू,
गरेर युवा निर्यात !
१२)
परेपछि घमण्डको छिर्को
उचितअनुचित हेक्कै नहुने,
लागेपछि बुद्धिमा बिर्को !
१३)
राखेर मलाई क्षोभमा
हाँस्दै गयौ निष्ठुरी,
परेर धनको लोभमा !
१४)
कतिबेला पस्यौ सुटुक्क
थाहै नदिई मलाई,
दिलमा बस्यौ सुटुक्क !
१५)
शब्द शब्द जोखेर
हिँड्छन् छ्द्मभेषी स्यालहरू,
मुखमा मह बोकेर !
१६)
नदेखाऊ धेरै कमाल
इज्जत पर्दैछ धरापमा,
आफ्नो लँगौटी समाल !
१७)
लखेटी युवा खाडीमा
मस्त छन् हजुरबाहरू,
चढेर अर्बौँको गाडीमा !
१८)
खोलेर कुरा कम्पनी
बाँड्दैछन् रोजगार नेताहरू,
बन्नेछ देश धनी !
१९)
लोग्ने परदेश खाडीमा
भताभुङ्ग भयो घरबार,
स्वास्नी नाठोको गाडीमा !
२०)
लाग्दैछ कुक्क बाँडुली
धेरै भयो नदेखेको,
सम्झ्यौकि ए ! ठुली ?
२१)
कोसौँको दूरी चलेर
भेट्न आउँदैछु सुटुक्क,
सासुकी छोरी छलेर !
२२)
छातीमा हात राखेर
धरोधर्म धोका दिनेछैन,
कसम देउता भाकेर !
२३)
बनायौ नोकर भान्छे
जोत्यौ, म जोतिइरहेँ,
जिउँदै मरेको मान्छे !
२४)
हाँसो, रोदनको मूल
रहेछ जिन्दगी आखिर,
छाङ्गो भिरको फूल !
२५)
दिलकी रानी सम्झिएँ
एयरपोर्ट जस्तै तिमीलाई,
सुनको खानी सम्झिएँ !
२६)
अजङ्गको पिर छातीमा
बोकेर हिँड्दैछ लगातार,
तिखिलो झिर छातीमा !
२७)
आँखामा बोकी असार
छातीमा उस्तै ज्वालामुखी,
जलेको ध्वाँसो अङार !
२८)
वचनको किलो गाडेर
अचानक गई निष्ठुरी,
सम्बन्ध सारा भाँडेर !
२९)
दुनियाँका कान भर्दै
हिड्दैछे मोरी अचेल,
एकपछि अर्को गर्दै !
३०)
माया गर्छु तिमीलाई
ख्याल ठट्टा नठान्नू,
नपाए मर्छु तिमीलाई !
३१)
राखेर सपना अधुरा
गयो दूर निष्ठुरी,
मुटुमा हानेर छुरा !
०००
घोराही उपमहानगरपालिका १४, दाङ
