सन्तेको भाग रोज्ने बानी नराम्रो थियो । आमाले कति सम्झाइन्, “भाग रोज्नुहुँदैन । मामुले जति दिनुहुन्छ, जे दिनुहुन्छ, रमाइरमाई खानुपर्छ ।”
तर सन्ते जहिले पनि बुवालाई खाना भाग लगाएको थाल रोज्थ्यो । यानि उसलाई धेरै भात पस्केको थाल चाहिन्थ्यो ।
माघेमा सन्तेलाई पनि लिएर आमा माइत गइन् । बाटोभरि सिकाइन्, “माउलो पुग्नेबित्तिकै माउली बाजे बजुलाई खुट्टामा ढोक्नू । जेठामामा माइज्यूलाई नमस्ते गर्नू दुइहात जोडेर ।”
सन्तेले रमाउँदै भन्यो – “ल ल मामु ।”
“अनि माउलोमा भाग रोज्न हुँदैन है । कुरी हुन्छ, मामा माइजुले नराम्रो भन्छन् । दिदीदाजुहरूले खिसी गर्नुहुन्छ । माइजुले जुनथालमा दिनुहुन्छ, चुप लागि खाने, हाम्रो ज्ञानी छोरा त्यसो गर्दैन ल ?”
“हुन्छ मामु !” भन्दै सन्तेले टाउको हल्लायो ।
माउलोमा पुगेपछि आमाले भनेझैँ सबैलाई जी लौ जी लौ ग¥यो ज्ञानी भएर चुप लागि बस्यो । तर राति खाना खानेबेला जेठामामाको अगाडि भागको थाल रोजेर रुन थाल्यो । आमाले जति सम्झाए पनि मानेन । अन्ततः जेठामामाले आफ्नो भाग सन्तेलाई दिनपर्यो ।
एकान्तमा जेठामामाले आमालाई भने – “बहिनी भानिजलाई नैतिकता सिकाको छैनौ ?”
“सिकाउँछु मान्दैन दाजु !”
“अलिक राम्ररी सम्झाऊ न ।”
“हुन्छ दाजु !” आज आमालाई लाजमर्दाे भो ।
सबै परिवारले सम्झाए सन्तेलाई । तर उसको बानी सुध्रेन । अन्ततः एकदिन आमाले एउटा उपाय सोचिन् । बुबाको थालमा भरी भात पस्केर तिहुन हाल्न थालिन् ।
सधैँझैँ आज पनि सन्तेले बुबाको भाग तानेर खान बस्यो । एक गास खाएर अर्काे गास मुछु भन्दा थालमा कालोलोहोरो देखेर तर्सियो । र चुप लागि उठ्यो, हात चुठेर ठुँस्केर बस्यो पेटीमा । कसैले केही भनेनन् ।
भोलिपल्ट पनि आमाले त्यसै गरिन् ।
पर्सिपल्टबाट सबैभन्दा थोरै भात रोजेर खान बस्यो । आमाले बुबाको ठूलो भाग खान कर लाइन् । तर मानेन सन्ते ।
त्यो दिनदेखि सन्ते आफ्नै भाग रमाउँदै खाएर स्कुल जानथाल्यो । र स्कुलमा ‘भाग रोज्नु हुँदैन’ भन्दै साथीहरूलाई पनि सम्झाउन थाल्यो ।
