गेथाती

पत्रकार र युट्यूबरको प्रचारपछि चर्चामा “चुङरी खर्क” तर वास्तविक तथ्य अझै अस्पष्ट


१५ भाद्र २०८२, आईतवार

रुकुम पूर्व । पछिल्ला दिनमा सामाजिक सञ्जालमा भाइरल बनेको चुङरी खर्क अब चर्चाको केन्द्र बनेको छ। तर यसबारेमा अझै केही महत्वपूर्ण तथ्यहरू अस्पष्ट रहेकाले सर्वसाधारण र पर्यटकहरूमा भ्रम फैलिएको छ।

चुङरी खर्कलाई पहिलोपटक पत्रकार महेश केसी र सरजन कार्कीले अघिल्लो वर्ष भाद्र महिनामा त्यहा पुगेर खिचेका भिडियो र तस्वीरहरू सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।तर यो क्षेत्र त्यो समयमा खासै पहिचानमा आएको थिएन।यस वर्ष भने युट्यूबर दिलचन पुनले बनाएको भिडियो र तस्वीरहरू भाइरल भएपछि चुङरी खर्क व्यापक लोकप्रियता हासिल गर्न सफल भएको छ। त्यसपछि अन्य पत्रकार र युट्यूबरहरूले समेत यसको प्रचार–प्रसार गर्दै योगदान दिएका छन्।यसका लागि सम्पूर्णलाई धन्यवाद छ।

तर, चुङरी खर्कको आधिकारिक नाम, ठेगाना र भौगोलिक स्थिति अझै प्रष्ट हुन सकेको छैन। यसैबीच सामाजिक सञ्जालमा यसलाई “चौरी खर्क नाम र एकलौटी आफ्नो मात्र” भनेर दाबी गर्ने पोस्टहरू देखिँदा सर्वसाधारण र पर्यटकहरूमा थप भ्रम सिर्जना भएको छ।

सरोकारवालाहरूका अनुसार, यो खर्कको नाम चौरी होईन चुङरी हो।क्षेत्रफलको हिसाबले चुङरी खर्क भूमे गाउँपालिका र पुथा उत्तरगंगा गाउँपालिकाको सिमानामा पर्छ। दुवै गाउँ–पालिकाको आ–आफ्नो भाग भए पनि चुङरी कुनै एकलौटी क्षेत्र होइन। यसले दुवैतिर स्थान ओगतेको छ।त्यसैले दुवै गाउॅं र पालिकाले एकलौटी आफ्नो मात्र भनेर दाबी गरी प्रचार-प्रसार गर्नु गलत हो।चुङरी खर्कलाई साझा सम्पत्तिका रूपमा स्वीकार गरी दुवै गाउँ र गाउँपालिकाले संयुक्त रूपमा पर्यटन प्रवर्द्धन, प्रचार–प्रसार र तथ्यपरक जानकारीको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको छ।

चुङरी खर्क अहिले रुकुम पूर्वको नयाँ पर्यटक गन्तव्यका रूपमा उभिँदै गएको छ। तर यसको विकासका लागि सहकार्यलाई प्राथमिकता दिनु पर्नेमा सरोकारवालाहरू एकमत हुनुपर्छ।