पाखापखेरी
भञ्ज्याङ चौतारीका
पञ्चतत्त्व विचारी
चोखो निम्तो गर्दै
सिमेभूममिलाई
फूलपाती अक्षता उडाई
देवी देउरालीलाई
ध्वजापटाका चढाई
दर्शनढुङ्गा बिछ्याई
लखिनढुङ्गामा
पूर्वजहरूको नाम खोपेर
हिमालतिर धूपी सल्ला
पहाडतिर राकुली ओखर
तराइतिर वरपिपल रोपेरे
बिसाउनी धर्मशालामा बनाई
बटुवासँग धर्म जोड्ने
बाटाघाटा कुलो पँधेरो खनाई
यात्रीसँग कर्म जोड्ने
पाखापखेरामा बस्ने
पाखेहरू
के लेनिनको सिपाही जतिकै वैज्ञानिक
लिङ्कनको अनुयायी जतिकै आधुनिक छैनन् र?
बिहेभोज गर्दामा
गाउँका गाउँ चुलेनिम्तो गर्ने
मर्दापर्दामा
नुनपानी बाँड्दै शोक मनाउने
दुःख बिमार हुँदा
इष्टनाता हेरिने
नवनिर्माण हुँदा
झारा लगाई खेरिने
गाउँमा बस्ने गवारहरू
के लेनिन जतिकै सामुहिक
लिङ्कन जतिकै आदर्शवान् छैनन् र ?
शिक्षाको प्वाँख पलाएपछि
स्वतन्त्रताको वकालत गर्दै
विज्ञानको तर्क दिँदै
चरीझैँ गुँड छोडेर
मालसाप्रोझैँ जोडी रोजेर
लिङ्कन¸ लेनिन खोज्दै
थातथलो बिर्सनेभन्दा
सावा अक्षर नचिने नि
ढुङ्गो माटो चिनाउँदै
धुलोधुँवा समाउँदै
मातृभूमिमा पसिना थोपा चुहाउँदै
बुढेसकालले छोएका
वृद्ध बाबाआमाका
स्याहारसुसार गर्ने
हात्तीछाप चप्पल लगाउने
ल्याप्चे औँठाछापहरू
के लनिनभन्दा कर्तव्यबोधी
लिङ्कनभन्दा दायित्ववादी छैनन् र?
पूँजिका लागि
उद्योगका लागि
जङ्गलका जङ्गल बुलडोजर लगाउने
स्वतन्त्रताको नाममा
बस्तीका बस्ती खरानी पार्न आगो वर्षाउने
सबै संस्कार परम्परा बुर्जुवा मान्दै
आधुनिकताको तरवार चलाउने
लेनिन र लिङ्कनको अन्धअनुयायीभन्दा
तिलचामल उडाई
जुलीधजा चढाई रुख काट्ने
सातपुस्ते गोत्यार
चौधपुस्ते मित्यार भन्दै मीत लाउने
वसुदैव कुटुम्ब भन्दै विश्व बन्धुत्व जोडने
अतिथि देवो भव: भन्दै सत्कारमा रमाउने
अप्पो दीप भव: भन्दै आफैलाई खोज्ने
लोकनीति
लोकजीवन
लेनिन र लिङ्कन जतिको दूरदर्शी छैनन् र ?
०००
