गेथाती

धिरेन्द्र र सङ्गीतको ‘कुहिरो’ सार्वजनिक


९ फाल्गुन २०८०, बुधबार

गायिका सुनिता थेगिम र गायक धीरेन्द्र मगरको आवाजमा सजिएको गीत ‘कुहिरो’ सार्वजनिक भएको छ । कवि तथा गीतकार सङ्गीत मगरको शब्दमा तयार भएको गीतमा मनोज थापामगरले सङ्गीत संयोजन गरेका छन् । तत्कालीन जनयुद्धकालीन समयलाई टिपेर गीतको म्युजिक भिडियो तयार पारिएको गायक धीरेन्द्रले बताएका छन् । सशस्त्र जनयुद्धको अन्त्यपछि देशमा व्यवस्था बदलिएको छ तर आमजनताको अवस्था अझै पनि उस्तै छ । नेपालमा भने जस्तो रोजगार युवाहरूले पाइरहेका छैनन् । यो अवस्थमा वैदेशिक रोजगारका लागि उपाय खोजिरहेकी एक युवतीको कथा गीतमार्फत् प्रस्तुत गरिएको उनको भनाइ छ ।
धीरेन्द्रले जनयुद्धमा ज्यान गुमाएका बुवाको सम्झनामा बाँचिरहेकी एक छोरीको कथा गीत मार्फत भन्न खोजिएको बताएका छन् । उनले भने – “जनमुक्ति सेनाको सदस्यको रूपमा आफ्नो बुवाको विगतका सम्झनाहरूसँग जोडिएको भावनात्मक यात्रालाई कोहिरोले देखाउने कोशिश गरेको छ ।”
‘कुहिरो गीत’को म्युजिक भिडियो रोल्पाको सुनछहरी गाउँपालिका-७ मा खिचिएको हो । पर्यटकीय स्थल जलजलाको प्रवेशद्वार जेलबाङमा तत्कालीन १० वर्षे जनयुद्धमा ७२ जना महान् सहिदहरूले ज्यान गुमाएका थिए ।
गीतको भिडियोको निर्देशन विशाल रोकामगरले गरेका हुन् भने कास्टिङ निर्देशकको रुपमा जेके थापा छन् ।
गीतमा निशा मगर, हितमान रोकामगर, सपना बुढामगर, लालसरी पुनमगर, खुमबहादुर पुनमगर, पासाङ झाँक्रीलगायतले अभिनय गरेका छन् ।
यसअघि पहिलो साङ्गीतिक कोसेलीको रूपमा उनीहरूले मगर खाम समुदायमा प्रचलित वैवाहिक संस्कारलाई गीतमार्फत् प्रस्तुत गरेका थिए ।

भिडियो लिङ्कभिडियो लिङ्क

TAGS: समाचार