मगर भाषाका आदिकवि जीतबहादुर सिंजाली मगर मूलतः कवि नै हुन् । उनका सबैजसो कविताहरू लोकलय वा गीति शैलीमा लेखिएका छन् । मगरले केही गद्यका पुस्तक पनि लेखेका छन् । अझैसम्म उनले के कति कृतिहरु लेखे भन्ने यकिन भइसकेको छैन । यहाँ उनका प्रकाशित भएर प्राप्य समेत रहेका पुस्तकाकार कृतिहरूको सामान्य चिनारी दिइएको छ ।
१. मगर भाषाङ ल्हिङ ड टुक्कावौ किताब (२०१७/१८)
सञ्जोग लाफा मगरले लेखेको मगर आदिकवि जीतबहादुर सिञ्जाली मगर (२०७२) नामक कृतिको अनुसूचीमा मगर भाषाङ ल्हिङ ड टुक्कावौ किताब नामक कवितासङ्ग्रहको प्रकाशन मिति २००८ उल्लेख गरिएको छ तर मलाई स्वयम् कवि जीतबहादुर सिंजाली मगरले त्यो किताव २०१७÷१८ सालतिर प्रकाशनमा ल्याएको बताएका थिए । साथै यसमा राखिएको उनको पञ्चायत रचना शीर्षकको कविताले पनि यो कृति २०१७ सालपछिको हो भन्ने थप पुष्टि गर्दछ । अर्का लेखक डा. हर्षबहादुर बुढा मगर (२०५५) ले २०२५ सालमा यसको प्रकाशन भएको उल्लेख गरेका छन् । २०२४ सालमा रोल्पा जाँदा जीतबहादुरले आफ्ना दुबै किताब बोकेर गएका कारण डा.बुढा मगरको भनाइ स्वतः असत्य प्रमाणित हुन्छ । यो किताब सिञ्जाली मगरले अर्का कवि रेखबहादुर थापा मगरसँगको सहलेखनमा तयार गरेका थिए । यसका केही रचना रेखबहादुर थापा मगरले लेखेका थिए । साथै लोकबहादुर थापा मगरले प्रस्तुत कृतिको दोस्रो संस्करण प्रकाशित गरिदिएका थिए । सञ्जोग लाफा मगरको कृतिको अनुसूची १, अनुसार उनका कविताका शीर्षकहरू ल्हिङ ल्हिङनिस पटको— कानको कठको, पिरती ल्हिङ, यो मायाँ पिरती कुडिक मार्हाङच, विलौना, घरायसी बजेट, हान रक्सीओ परिणाम, कान्छी मट्याङ, काटै इच्छा, भर्मी जाति काट, सेवा र जाँगर, माराङच लाम, स्याह—ल्हिङ, इमौ सम्झना, काटै हक, सहरौ जीवन, सोम वर्षाै भेट, लाघाँओ जीवन, माहाजा, पञ्चायत रचना र शिक्षा रहेका छन् । यसमा बिस कविताहरू छन् ।
२. मगर भाषाका शुरुवो किताब (२०१९)
जीतबहादुर सिंजाली मगरको मगर भाषाका शुरुवो किताब नामक कृति हाल अप्राप्य रहेको छ । लोकबहादुर थापा मगरका अनुसार यसमा लेखकले सावाँ अक्षरदेखि मगर भाषामा सयसम्म गन्ती गर्ने तरिका सिकाएका छन् । बालबालिकाहरूलाई मगर भाषामा पठनपाठन गराउने उद्देश्यले यो कृति लेखिएको थियो तर आफ्नो घुमन्ते जीवनशैली र तत्कालीन प्रतिकूल राजनीतिक वातावरणका कारणले उनको इच्छा पूरा हुन सकेन । यो किताब आफूले शिक्षण गरेको रोल्पाको एक विद्यालयमा भने उनले आफै पढाएको बताएका थिए । यसरी उनको यो कृति मगर समुदायका बालबालिकाहरूलाई आफ्नो भाषामा शिक्षा दिने उद्देश्य राखेर लेखिएको स्पष्ट हुन्छ ।
३. ल्हेस्म राहानाङ (२०६३)
जीतबहादुर सिंजाली मगरको ल्हेस्म राहानाङ नामक मगर भाषाको कवितासङ्ग्रह पनि प्रकाशित भएको छ । २०६३ सालमा प्रकाशित प्रस्तुत कृतिमा उनका मगर भाषाका ३५ वटा फुटकर कविताहरू सङ्कलित छन् । यसभित्र ङा फुन्च्ह झा, जीवाक, जीवाक याचना, ज्ञान याहाके, कह्रङच भर्मी, ढर्म गुण, सक्टि, महाडेव, बुद्ध डर्सन, मोई, जीवाक आहान, महाडेव, मिजा, हिन्डुज्म, टिरस्कार, छलकपट, मुर्ख, भ्रस्ट, सट्य, नुङच लाम्, सेच्ह लाम जिमिङ, घमन्ड, चिम्टा, माया, चञ्चल, सट्कार, राज्यसत्ता, डया, विज्ञान, सान्ट, निस्चिन्ट, ढर्म, मगर लिस, मगराट, मगर राज्य शीर्षकका कविता रहेका छन् ।
४. गोलभाव (२०६५)
जीतबहादुर सिंजाली मगरको गोलभाव नामक कवितासङ्ग्रह पनि प्रकाशित छ । प्रकाशक, प्रकाशन मिति र स्थान केही उल्लेख नभएको भए पनि कविले यस लेखकसँग गरेको कुराकानीका आधारमा यसको प्रकाशन २०६५ सालमा भएको हो । यसभित्र नेपाली र मगर दुबै भाषाका कविताहरू रहेका छन् । यसमा गोलमेच सम्मेलन के को लागि, एउटा, सकिएको, भावना, सङ्घीय राज्य, सङ्घ, राज्य, श्रमशक्ति सदुपयोग, अधिकार र कर्तव्य, प्रशासन यन्त्र, कर्तव्य, मिहिनत, चोखो भाव, सम्बन्ध, अलमल, राष्ट्रिय सम्मेलन, वार्ता, राष्ट्रियता, कृषि, उद्योग, व्यापार, खनिज, इलम, विश्व धन्दा र विभिन्न कल्प गरी जम्मा २५ वटा रचना नेपाली भाषामा रहेका छन् भने बाँकी सबै मगर भाषामा रहेका छन् । मगर भाषामा रहेका कविताहरूमा ल्हिङ ल्हिङनिस पटको—कानको कठको, पिरती ल्हिङ, हो मायाँ पिरती कुडिक मार्हाङच, बिलौना, घरायसी बजेट, हान रक्सीको परिणाम, कान्छी मट्याङ, काटै इच्छा, भर्मी जाति काट, सेवा र जाँगर, माराङच लाम, स्याह ल्हिङ, इमौ सम्झना, काटै हक, सहरौ जीवन, सोम वर्षौ भेट, लाँघाओ जीवन, माहाजा, पञ्चायत रचना, शिक्षा गरी २० वटा रहेका छन् । यसैगरी यस कृतिमा वीरबहादुर थापाको प्रिय टुक्का ल्हिङ र कृष्णप्रसादको मैयाँ देवीओ र शेरचनो जुवारी ल्हिङ गरी मगर भाषाका दुई कविता पनि रहेका छन् । साथै गोल भावमा रहेका मगर भाषामा लेखिएका जीतबहादुर सिञ्जाली मगरका कविताहरू उनको पहिलो कवितासङ्ग्रहमै राखिएका कविताहरू रहेका छन् ।
५. गमन (२०६५)
जीतबहादुर सिंजाली मगरको गमन मगर भाषामा लेखिएको कवितासङ्ग्रह हो । वैदेही प्रिन्टिङ प्रेस, बुटवलले प्रकाशित गरेको प्रस्तुत कृतिभित्र उनका विभिन्न भाव सन्दर्भका कविताहरू रहेका छन् । यसमा उनका गमन, समय, विधि, अवस्था, चेतन, जान, उपयुक्त, मण्डल, विज्ञान, अध्यक्ष, अध्ययक्ष मण्डल, नियत, माहा, माहाअध्यक्ष, समाज घुरे, मेही, मेन, मेनो, ङौं, अरकुङ, पतकुङ, भोग, मिहिनत, दयनीय, वाँके, भाव, चरित्र, विकृति, स्थान, वोध, जैताथ, राक, पाहाथ, छयुक, गीन, दिन्ह, अर्धिम, माछान, राष्ट्रियता, धारणा, कल्पना, जपना, शान्ति, जीवन, प्योकग्य, अग्रगति, दायित्व, राष्ट्र भाषा, आधार, जात, राष्ट्र, प्रदेश, सङ्घ, संस्था, निकाय, सङ्गठन, खात, सदोपयोग, घाँटी हेरी हाड निल्नु, जीवन निर्माण, शान्ति गरी विभिन्न शीर्षकका कविताहरू रहेका देखिन्छन् । साथै मुद्रण त्रुटिका कारण कतिपय कविताहरू दोहरिएका पनि छन् । प्रकाशन मिति उल्लेख नभएको भएपनि यसको प्रकाशन पनि २०६५ सालमा भएको सिंजालीले बताएका थिए ।
६. बुद्ध दर्शन
जीतबहादुर सिंजाली मगरले लेखेको एउटा किताब बुद्ध दर्शन पनि हो । जी.सी.प्रिन्टर्स बुटवलले मुद्रण गरेको यस पुस्तक स्याङ्जामा रहेको जित प्रा.वि.ले प्रकाशन गरेको उल्लेख छ । यो जम्मा ५० पृष्ठको आयाममा रहेको छ । यसभित्र लेखकका बुद्ध दर्शन, आधार, बुद्ध औतार, विकल्प खोजी, धारणा, तपस्या, ज्ञान, ध्यान, प्रभाव, भावना, चरित्र निर्माण, समाज कल्याण, त्याग, गुण, भक्तिभाव, विशाल, ग्रहण, चाहना, दर्शन, औतार, धेरै, पदार्थ, सिर्जना, शान्ति, राम्रो नराम्रो, सिद्धान्त, दूरदर्शी, कल्पना, बुद्ध संसा, किन ? , एक, सपार, महत्व, विचार, उत्तम, सिद्ध अर्थ, एक चित्त एकाग्र, गरिब दर्शन, विमार, मुर्दा, मृग, अहिंसा, शान्ति, जरुरत, भक्तिभाव, उद्देश्य, जीवन उपाय, मानिस, भरमी, मानव ज्ञान, लक्ष्य, विनम्र गरी विभिन्न शीर्षकमा मूलतः बुद्धसम्बन्धी आफ्ना विचार प्रस्तुत गरेका छन् । यसभित्रका गद्य रचनामध्ये बुद्ध औतार, विकल्प खोजी, तपस्या, ज्ञान, ध्यान, भावना, चरित्र निर्माण, भरमी, लक्ष्य, जीवन, विनम्र गरी ११ वटा रचनाहरू मगर भाषामा लेखिएका छन् भने बाँकी रचनाहरू नेपाली भाषामा लेखिएका छन् । यी रचनामा लेखकले बुद्ध र उनका चिन्तनबारे मात्रै नभएर आफ्ना केही दार्शनिक धारणालाई पनि प्रस्तुत गरेका छन् ।
७. सुकुम्वासी
जीतबहादुर सिंजाली मगरको सुकुम्वासी नामक गद्य कृति पनि प्रकाशित भएको छ । यसमा प्रकाशन मिति उल्लेख गरिएको छैन । नेपाल मगर सङ्घ, एकाइ रामनगर— ५, जर्गा गाउँ मगर समाजको आर्थिक सहयोगमा प्रकाशित यस पुस्तकभित्र उनका विभिन्न गद्य रचनाहरू रहेका छन् । यसभित्र उनका विभिन्न शीर्षकका १८ रचनाहरू समाविष्ट छन् । जम्मा ३० पृष्ठ रहेको यस कृतिमा उनको परिचय, अवस्था, सन्तुलन, सत्य गरी चार रचना मगर भाषामा रहेका छन् भने अरू नेपाली भाषामै लेखिएका छन् । यसभित्रका रचनामा जीवन निर्वाहका लागि चाहिने व्यावहारिक ज्ञान र सीपबारे उल्लेख गरिएको छ ।
८. सन्तुलन
सन्तुलन पनि जीतबहादुर सिंजाली मगरको गद्य कृति हो । नेपाल मगर सङ्घ, केन्द्रीय कार्यालयले प्रकाशित गरेको यस कृति जम्मा ५८ पृष्ठमा रहेको छ । यसभित्र सन्तुलन, अङ्ग प्रत्यङ्ग, सिर्जन, उपज, जीवात्मा, व्यवस्था, कारोबार व्यवहार, व्यापार, कृषि, सामाजिक, परिचय, समावेशी, भाषा, एकता, सुधार, सङ्घ, विकल्प, राष्ट्रियता, दल, विभाजित, आज, जुट, एक, अङ्ग, अवस्था, सन्तुलन समाज, जरुरत, खाँचो, आवश्यक, भावना, चरित्र, अन्तरराष्ट्रिय, स्वास्थ्य, वनस्पति, शान्ति, पारिवारिक, राजनीतिक सन्तुलन, तत्व, सूर्य, ताप, पृथिवीजस्ता शीर्षकहरूमा लेखकले आफ्ना विभिन्न दृष्टिकोण प्रस्तुत गरेका छन् ।
९. नयाँ मोड (२०६५)
जीतबहादुर सिंजाली मगरको नयाँ मोड नामक पुस्तक पनि प्रकाशित छ । २०६५ सालमा प्रकाशित यस पुस्तकको प्रकाशन शेरबहादुर तरामुले गरेका हुन् । यसभित्र स्पष्टीकरण र भूमिकाबाहेक नयाँ संरचना, पुनर्गठन, गोरखा, यत्रतत्र, विभाजन, समावेश, शुरू, भाषा विविधता, एकरूपता, म गर्छु, थर, गोलमोद, कल्प सुधार, विविधता, ब्लड, भाषाहरू, राष्ट्र संरचना, राज्य संरचना, ऐतिहासिक पकड, खिचलो, अवसर, सुवअसर, शैक्षिक सुधार, नजिक, अभ्यास, प्रयोग, तराई मधेश भाषा, एक्लोपन, वहुपन, सद्विचार र काम, सर्वहित, स्वार्थ, पार्टी, नकारात्मक प्रभाव, असल नागरिक, मगरात नेपाल समाज, धर्म, सिद्धान्त, मजदुर र पूँजीपति वर्ग, समय, परिवर्तन, अवस्था, सन्तुलन, सचेत नागरिक, सरसङ्गत, सामाजिक उत्पत्ति, राष्ट्र र राज्य, सभाजस्ता शीर्षकमा उनले राज्य पुर्नसंरचना लगायत समकालीन समाजका विभिन्न पक्षहरूबारे आफ्नो धारणा राखेका छन् । ३८ पृष्ठ सानो पुस्तकको पुछारमा उनले त्रिकोशा, सुसम्पन्न, समावेशी, बुद्ध पुकार गरी चारवटा नेपाली कविता पनि राखेका छन् ।
१०.प्रकाश
जीतबहादुर सिंजाली मगरको प्रकाश नामक गद्य कृति पनि प्रकाशित भएको देखिन्छ । शेरबहादुर तरामुको सहयोगमा प्रकाशित भएको प्रस्तुत पुस्तकमा पनि प्रकाशन मिति, प्रकाशक र स्थानका बारेमा केही उल्लेख गरिएको छैन । यसमा ऐतिहासिक वंश, राज्य, गोरखा, राष्ट्र भाषा, राज्य भाषा, इतिहास, संविधान सभा, वहुमतको सम्मान, विकास, राष्ट्र, राष्ट्र शुरुवात, पञ्चायत, एरिया, जिल्ला अञ्चल, विकास क्षेत्र, भाषा उपज, भाषा क्षेत्र, उत्पत्ति र विस्तार, अगण मगण, कपिलवस्तु, पर्व, नारायणहिटी पर्व, गृहणी, पृथ्वीनारायण शाह, तिब्बत नेपाल युद्ध, महेन्द्र सुधार, प्रजातन्त्र, किसान मजदुर, समाजवादी प्रजातन्त्र, नैतिकता, साम्यवादी समाजवाद, चरित्र निर्माण, विकृति, राष्ट्रियता, चरित्रजस्ता विभिन्न उपशीर्षकहरूमा नेपालको राजनीतिक, सामाजिक र साँस्कृतिक पक्षहरूको सङ्क्षेपमा चर्चा गरिएको छ । जम्मा २९ पृष्ठको यो पुस्तकमा लेखकले साना साना शीर्षकहरूमार्फत नेपालका विभिन्न ऐतिहासिक पक्ष र मगरहरूको भूमिका आदिमाथि प्रकाश पारेका छन् ।
११.शिक्षा (२०६५)
जीतबहादुर सिंजाली मगरको शिक्षा नामक कृति पनि गद्य भाषामा लेखिएको छ । वि.सं.२०६५ सालमा प्रकाशित प्रस्तुत कृति नेपाल मगर सङ्घ, जिल्ला शाखा नवलपरासीले प्रकाशित गरेको हो । यसमित्र शिक्षा, स्वभाव, अवस्था, करम, धरम, अक्षर, स्कोप, समावेश, कर्तव्य, सिकन, काम, शिक्षा स्तर, विश्व पकड, भाषा शिक्षा, स्थानान्तरण, मतभेद किन ?, कृति, सहज, सम्बन्ध, संयोजन, बनावट, फल, जरुरत, गुण, विचलन, समय, ठूलो, लमजुङ मगराँत, सेती कर्णाली, राज्य, पराजुलीको, भाषा, विद्यालय, २००९, जन, ००९, ०१७, ०४९, अर्घ, कर्तव्य, संग—यंत्र, प्रचलन, भाषा परिचालन, कक्षा सञ्चालन, उपयोग, आधार, भरिलो गरी विभिन्न शीर्षकमा उनले आफ्ना विचारहरू प्रस्तुत गरेका छन् । प्रकाशकीय र लेखकको भनाइबाहेक जम्मा ४४ पृष्ठको यस कृतिमा उनले आफ्ना प्रस्तावित केही कृतिहरूको सूची पनि दिएका छन् ।
१२.नयाँ बाटो
जीतबहादुर सिंजाली मगरको नयाँ बाटो नामक गद्य कृति पनि प्रकाशित भएको छ । देउखुरीका घनश्याम चौधरीले प्रकाशन गरेको प्रस्तुत कृतिको प्रकाशन मिति पनि उल्लेख छैन । जम्मा ३५ पृष्ठमा रहेको यस गद्य कृतिमा उनका विचार, गोरखा परिचय, नयाँ बाटो, उदाहरण, लक्ष्य, सूर्य, उज्यालो, समुचित, भन्छिन्, भावना, मसान, मेही, नेता, पार्टी, वाद, एकचित्त, नयाँ गुण, खोस्नु, परिवर्तन, श्रम परिचालन, तथ्याङ्क, माछा, भल, नागरिक, चरित्रवान, धरम, विकृति, बुद्ध, प्रचुर, सञ्चालन, करम, बझौला, सम्पन्न, समावेशी, राष्ट्र संरचना, मार्ग गरी ३६ शीर्षकका साना साना निबन्धात्मक रचना समाविष्ट छन् । यिनका आधारमा सिञ्जालीको जीवन, प्रकृति, इतिहास, राज्य र समाजबारे उनका वहुविध चिन्तनहरू बोध गर्न सकिन्छ ।
साथै उनले २०१२ सालपछिको आत्मकथा पनि लेखेका थिए । पाण्डुलिपिका रूपमा यो कृति नेपाली भाषामा थियो । हस्तलिखित यसको पृष्ठ ६० रहेको थियो । सिञ्जालीले २०६६ सालमा यस लेखकसँग घोराही, दाङमा भेट हुँदा कृतिको पाण्डुलिपि देखाएका थिए तर प्रकाशित भएको वा नभएको बारे कुनै जानकारी छैन । उनको मगर भाषाको एउटा कवितासङ्ग्रहको पाण्डुलिपि पनि अझै यो पङ्क्तिकारसँग सुरक्षित छ । जम्मा ३० पृष्ठको यस पाण्डुलिपिमा उनका भाषा, स्थानीय, पार्के, राज्य, राष्ट्र, राष्ट्रियता, अन्तरराष्ट्रियता, विश्व भाषा, मानव, उद्देश्य, मगरात, धरम, करम, सृष्टि, आस्था, जलचर, थलचर, वैधानिक, साँस्कृतिक, गौरव, पृथ्वी, कृषि, व्यापार, मित्र, खेरेप जात, विशाल, जेटके गरी २८ शीर्षकका कविताहरू रहेका छन् ।

तस्बिरहरू लेखकबाटै
नयाँ युगबोध राष्ट्रिय दैनिकको शनिबार, भाद्र ८, २०८१ को सौगातबाट साभार
