आँसु र हाँसो एकैपटक बोकेर आउने तिहारअघि २०८१ कार्तिक ५ गते म ड्युटीमै थिएँ । ग्रेण्डरको सङ्गीतमा मोबाइलको रिङटोनले कोरस भर्यो । ग्रेण्डरको भाइब्रेसनले बाउडिएको औँलाहरूले युनिफर्मको गोजीबाट बल्लबल्ल मोबाइल निकालेर हेरेँ, कवि एवम् गजलकार दिलिप बुढामगर (स्वेद) को कल रहेछ । अहो… कविजीले धेरै समयपछि सम्झिनुभएछ । हाम्रो साइनो मामा भान्जा हो । कहिलेकाहीँ ‘भान्ज बाँदुरे’ भन्नुहुन्छ धेरैजसो ‘कविजी’ भनेर बोलाउनुहुन्छ । मैले उहाँको कल उठाएँ ।
– हेल्लो… जेदो (नमस्ते) कविजी ! मैले भनेँ ।
– जेदो कविजी कताहुनुहुन्छ तपाईँ ?
– म त पोखरामै छु ।
– लौ रोल्पा आउनुपर्यो तपाईँ ।
– किन नि ? म त १० गते काठमाडौँ पो जाँदैछु त ।
– पर्यटन प्रवर्द्धनका लागि कार्तिक १२ देखि १४ गतेसम्म जलजला पदयात्रा हुँदैछ । त्यो पदयात्रामा पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’, पूर्वसभामुख ओनसरी घर्तीमगर, लुम्बिनी प्रदेश सभामुख, लुम्बिनी प्रदेश पर्यटनमन्त्री, लुम्बिनी प्रदेश संसद जोखबहादुर महरा, लुम्बिनी प्रदेश संसद दिपेन्द्र पुन ‘सिजल’, रोल्पा जिल्लाका समन्वय प्रमुख, रोल्पा जिल्लाका सबै स्थानीय सरकार प्रमुखहरू, रोल्पा जिल्लाका विभिन्न सरकारी कार्यालय प्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरू, थुप्रै साहित्यकार, पत्रकार, कलाकारहरूको सहभागी रहनेछ । पदयात्रामा दुईवटा साहित्यिक कार्यक्रम हुनेछ । ओखरेनी बेसक्याम्पमा ‘ओखरेनी साँझ’ जुन कार्यक्रमको बीचबीचमा कलाकारहरूको प्रस्तुति रहनेछ र जलजला पुगेपछि ‘जलजलामा कविता’ हुनेछ । कवि विष्णु सन्न्यासले समीप बैरागीलाई पनि बोलाउनुस् भन्नुभा’छ । अनि तपाईँ काठमाडौँ किन ?
– साहित्यिक पत्रिका ‘साहित्यपोस्ट’मा २०८० साल भरि प्रकाशित भएका पर्याकविताहरूमध्ये नवौँ वातावरण साहित्य गोष्ठीमा मेरो कविता दोस्रो भएको थियो । त्यसको पुरस्कार र प्रमाणपत्र यही २०८१ कार्तिक १० गते विश्व नेपाली साहित्य महासङ्घ परिवारले आयोजना गरेको ‘तेस्रो बृहत साहित्यिक विश्व सम्मेलन-२०२४’ मा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको हातबाट ग्रहण गर्न निमन्त्रणा आएको छ ।
“अहो… त्यता पनि महत्त्वपूर्ण कार्यक्रम रहेछ है तपाईँको ?”¸ कवि स्वेदले भन्नुभयो ।
– हजुर हो तर मेरो लागि दुबै कार्यक्रम महत्त्वपूर्ण छ । कम्पनीले छुट्टी दियो भने म रोल्पा नै आउँछु । स्थानीय साथीहरूसँग पनि भेटघाट होला । आफ्नै व्यस्तताको कारण गृहजिल्लाका साहित्यिक कार्यक्रमहरूमा सहभागी जनाउन पाएको छैन ।
– हुन्छ सल्लाह गरेर खबर गर्नुहोला ।
– हवस् हुन्छ ।
कवि दिलिप बुढामगरसँगको कुराकानी पछि कवि विष्णु सन्न्यासलाई कल गरेँ । ‘हाम्रोमगर खाम भाषाबाट सिर्जना गरिएका कविताहरू पनि लिएर आउनुस्’ भन्नुभयो र विश्व नेपाली साहित्य महासङ्घका अध्यक्ष सुरेन्द्र लिम्बूज्यूलाई कल गरेर माफी माग्दै काठमाडौँ जाने निर्णय रोकेँ । विजय हितान सरलाई पनि मेसेन्जरमार्फत् सो कुराको जानकारी गराएँ । पुरस्कार र प्रमाणपत्र कवि भारती न्यौपानेज्यूलाई ग्रहण गरिदिनहुन आग्रह गरेँ । उहाँले पनि सहर्ष स्वीकार गरिदिनुभयो ।
त्यसपछि ?
अब कम्पनीसँग छुट्टी माग्ने काम बाँकी रह्यो । उत्पादन शाखा प्रमुख हिरा चौधरीज्यूलाई धेरैपटक बिन्ती चढाएपछि बल्लबल्ल १२ दिनको बिदा दिनुभयो र १० गते पोखराबाट रोल्पा लिबाङसम्मको टिकट काटेर रात्री बसमा यात्रा सुरु भयो । जाँदै गर्दा कवि विष्णु सन्न्यासले ‘मेरो घरायसी कामले कार्यक्रममा सहभागी जनाउन सक्ने छैन । थप जानकारीको लागि बालकुराम पुनसँग सम्पर्क गर्नुहोला’ भनेपछि तनहुँ पुगेर बालकुराम सरलाई कल गरेँ ।
– सर नमस्ते !
– नमस्ते समीप जी !
– तपाईँ पर्यटन प्रवर्द्धन सँगसँगै कला र साहित्यलाई पनि उत्तिकै माया गर्नुहुन्छ । पोहोर साल गुराँस महोत्सवमा पनि बोलाउनुभएको थियो । त्यसबेला कम्पनीबाट बिदा नपाएर आउन सकिनँ । फेरि यो साल पनि सम्झिनुभएछ, खुशी लाग्यो । यसपालि जलजला पदयात्रासँगै गर्ने भयौँ । म आउँदैछु सर ।
– आहा… कति खुशीको खबर ! लौ स्वागत छ तपाईँलाई । पर्यटन प्रवर्द्धनका लागि साहित्यकार, पत्रकार, कलाकार र सञ्चारकर्मीहरूको पनि उत्तिकै महत्त्व छ समीपजी । त्यसैले म सबैलाई माया गर्छु र गरिरहने छु । आउनुस् भोलि लिबाङमा भेटौँला ।
‘मायालुको शहरमा मेरो गाउँमा घर छ
हिलो भन्न पाउँदैनौ धुलो भन्न पाउँदैनौ
उकाली र ओराली गरिरहनुपर्छ’
गणेश पौडेल र पूर्णकला बि.सी.को सुमधुर आवाजमा गीत बजिरहेको छ । गाडी आफ्नै रफतारमा कुदिरहेको छ । गाडीको झ्यालबाट सुटुक्क छिर्ने बदमासी हावाले शरीरमा काउकुटी लगाइरहेको छ । तिहार नजिकिएकोले गाउँ फर्किनेहरूको अनुहारमा खुशीको रङ पोखिएको छ । म पनि केही दिनको लागि कर्मभूमि छोडेर जन्मभूमि फर्किँदैछु । बालकुराम सरसँगको सम्वादपछि जेलबाङका कवि एवम् गजलकार घाममगरलाई कल गरेँ ।
उहाँले भन्नुभयो, “एउटा प्रतिष्ठानको अधिवेशन छ । म त ‘ओखरेनी साँझ’मा आउन भ्याउँदिनँ होला ।”
मैले भनेँ, “विष्णु सन्न्यास पनि नआउने तपाईँ पनि नआउने भए म पनि आउँदिनँ । लिबाङबाट घरतिर गइहाल्छु ।” घामसँग हाम्रो साइनो साला भेना पर्छ । माफ गर्नुहोला है साला माइतीराजा मैले तपाईँलाई घुर्की लगाएको थिएँ । पाङ अबलेखिन् पोखरा नहुक तछा तदिम मद ङाफोया माइती (कुरा बिग्रिएछ भने पोखरा आउँदा एकदिन एक धार्नी रक्सी तिरुँला माइती) । दमौलीतिर पुगेपछि कवि विपनामगर ‘काफिया’ बैनीसँग पनि मेसेन्जरमा कुराकानी भयो । उनीसँग घुर्की लाउनु परेन । म आउँछु दाइ साथीहरूले फूल बोकेर जाने भनेका छन् उतै भेटौँला भनिन् । आजभन्दा १० वर्ष पहिले सामाजिक सञ्जालमा जोडिएका थियौँ । यसपटक पहिलो भेट हुँदै थियो, काफियासँग ।
पोखरादेखि २ वटा गाडी बदलेर १७ घण्टापछि रोल्पा लिबाङ पुगेँ । पोखरादेखि लिबाङसम्म भनेर १९५० रुपैयाँ भाडा ल्याउनेरहेछन् तर त्यो गाडीले सुलिचौरमै छोड्दोरहेछ । सुलिचौरदेखि लिबाङ सम्झना होटलको आँगनसम्म २७५ रुपैँया रहेछ तल टुँडिखेल जानको लागि २५ रुपैयाँ लाग्दोरहेछ । एउटा मजदुरले अर्को मजदुरलाई लुटेको आभास भयो । पोखराबाट लिबाङको टिकट काटेर जाने प्रत्येक नागरिकरू २७५ रुपैयाँ ठगिने रहेछन् । बस चालकहरू आफै मालिक हुन् कि यातायात मजदुर त्यो त थाहा छैन तर जसले ठगे पनि आखिर ठगिने त सर्वसाधारण जनता नै त हुन् । कि त टिकटमै १९५० रुपैयाँ भाडा सुलिचौरसम्मलाई मात्र काटिदिएको भए आममानिसहरूको चित्त बुझ्थ्यो । ए… सुलिचौरसम्मको भाडा यति रहेछ सुलिचौरबाट लिबाङसम्म थप भाडा लाग्दोरहेछ भन्ने बुझिन्थ्यो । टुँडिखेलमा एक्लै उभिएर मनमनै सोचेँ यस्ता कुराहरूमा सम्बन्धित निकायहरूको ध्यान किन पुग्दैन होला ? अन्यथा नहोस् एउटा यात्रीले भोगेको र मनमा लागेको कुरा लेखिहालेँ । गल्ती भए माफ दिनुहोला ।
लिबाङ पुगेर कवि प्रेमप्रकाश र युग सर्वनामलाई सम्पर्क गरेँ । उहाँहरूले टुँडिखेलको किनारमा रहेको भट्ट होटलमा बोलाउनुभयो । होटलको आँगनमा पुगेर फेरि कल गरेँ । कोठा नं. ३०१ मा बोलाउनुभयो र म सरासर कविहरूको कोठामा पुगेँ । उहाँहरू कवि प्रेमप्रकाशजीको कवितासङ्ग्रह ‘रगतको तर्पण’ गृहविमोचन गरिसकेर जलजला पदयात्राको पर्खाइमा हुनुहुन्थ्यो । रगतको तर्पणसँग मेरो पहिलो साक्षतकार भयो । कवितासङ्ग्रह हातमा लिएर बहुत प्रेमले सुमसुम्याएँ, पढेँ र सङ्ग्रहभित्रबाट ‘एउटा सपना’ शीर्षकको प्रेमिल कविता वाचन गरेर मेरो फेसबुकवालमा पनि पोष्ट गरेँ ।
साँझपख बजार घुम्न निस्कियौँ । लिबाङ नगएको धेरै साल भएको थियो । पहिलेको भन्दा अहिले धेरै सफा र सुन्दर बनेको रहेछ । केही भौतिक संरचनाहरू निर्माण भएका रहेछन् । तिहारको आगमन हुन लागेकोले बजार कृत्रिम फूलहरूले सिंगारिएको थियो । सातदोबाटोको चुच्चोबाट बूढो घामले लिबाङसँग बिदा माग्दै गर्दा टुँडिखेलमाथि देखिने राता रेखाहरूको दृश्य झन् कति मनोरम देखिन्थ्यो । शान्ति प्रक्रियापछि लिबाङबजार र त्यस आसपासका गाउँहरूमा भैलो खेल्दै हिँडेको खुब सम्झना आयो । जलजला साँस्कृतिक परिवारका पुराना साथीहरूको याद ताजा बनेर आयो । यतैकतै भेटिन्छन् कि जस्तो लागिरह्यो । ठुटेपिपल पुगेपछि मेरो मामासँग अचानक झम्का भेट भयो । कतारबाट छुट्टीमा आउनुभएको रहेछ । उहाँ पनि बजार घुम्नु हाम्रै ग्रुपमा सामेल हुनुभयो । घुम्दाघुम्दै झमक्क अँध्यारो हुन थाल्यो । बिजुली बत्तीहरूले बजार झिलिमिलि हुन थाल्यो । रातमा चम्कने बत्तीहरूले पनि थपिदियो लिबाङको अर्को मोहक सुन्दरता । कोठा फर्किँदै गर्दा बालकुराम सरले कल गर्नुभयो । शिव मेडिकलको छेउमा भेट भयौँ । ‘भोलि दिउँसो १:०० बजे हाम्रो यात्रा सुरु हुनेछ । तपाईँहरूको टिम यहीँ टुँडिखेलमा जम्मा भएर बस्नुहोला’ भन्नुभयो । हस् सर भोलि भेटौँला शुभ रात्री । हामी छुट्यौँ ।
म लिबाङदेखि टाढा छु र पनि थुप्रै प्रिय मनहरू छन् । एकछिन भेटौँ न, आज यतै बसौँ न भन्ने साथीहरू थुप्रै भेटिए । कवि युग सर्वनामले हाम्रै कोठामा बसौँ न दाइ भन्नुभयो । सफल ज्वाइँले यतातिर बसौँला नि जेठान भन्नुभयो । रोल्पा समाचारको कार्यालयमा कार्यरत भाइ युगान्त बुढाले पनि ‘दु:खुम सुखुमका कुरा गरौंला आज मेरो कोठामा जाऊँ न दाइ’ भन्यो । तर म अन्त कतै नगएर थलिबाङ साली र साधुको घरमा जाने निर्णय गरेँ । सालीले विवाह गरेदेखि जाने मौका कहिल्यै मिलेको थिएन । यसपालि यहाँसम्म आउँदा सालीको घरमा जान्छु । तपाईँहरूसँग फेरि कुनैदिन लिबाङ आउने अवसर जुर्यो भने बसौँला नि साथीहरूलाई भनेँ र मामा र म साथीहरूसँग भोलि भेट्ने बाचा गर्दै थलिबाङतिर लाग्यौँ ।
१२ गते बिहान उठेर मामा थबाङ जाने गाडीमा मिरुल जानुभयो । म सालीको घरमै खाना खाएर कवि प्रेमप्रकाश र युग सर्वनामको कोठामा गएँ । एकछिनपछि कवि चन्द्र जी.एम. र गजलकार सम्फा घर्ती बैनी पनि आइपुग्नुभयो । परिवर्तन गाउँपालिकाबाट गजलकार एम.पी. सरोवर र कवि दिलिप बुढामगरले पनि आइपुग्न लागेको कलमार्फत् जानकारी दिनुभयो । एल.बी. साथीसँग पनि उतै भेट हुने कुरा भयो । ब्यानरमा कवि कमल विवशमगर, घनश्याम अस्तित्व, प्रमोद धिताल ३ जनाको नाम पनि थियो तर उहाँहरू आउनुभएन । बडाचौर माइतीगाउँ किलाचौरका मामा महेन्द्र कुमार गुरुङसँग पनि त्यहीँ भेट भयो । हामीले टुँडिखेलतिर पाइला बढायौँ । रोल्पा समाचारको कार्यालयमा भाउजू अस्मिता फाइल मिलाउँदै हुनुहुन्थ्यो । कार्यालयको गेटबाटै अभिवादन टक्र्याएँ । धेरै बोल्ने समय थिएन । युगान्त भाइसँग पनि हतारमा एउटा तस्बिर खिचेर छुट्यौँ । ओखरेनी छेडासम्म गाडीमा जाने भन्ने सल्लाह रहेछ । पूर्वअर्थमन्त्री वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्तीमगर, लुम्बिनी प्रदेश सांसद जोखबहादुर महारा, लुम्बिनी प्रदेश सांसद दिपेन्द्र पनु, रोल्पा जिल्ला समन्वय प्रमुख सीता आचार्य, रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र घर्ती थापालगायतको टोली अघि हिँड्यो । हामी बीचमा हिँड्यौँ । दिलिप बुढामगर र एम.पी. सरोवर अलि ढिलो आइपुगेकोले उहाँहरू अलि पछिको गाडीमा चढ्नुभयो । पत्रकारहरू खेम बुढामगर, काशीराम डाँगी, एल.बी.मगर, नवीन लोचनमगर, देवी गुरुङलगायतको टोली पनि हामीसँगै थियो । लिबाङले गाजाबाजा बजाएर भव्य बिदाइ गर्यो । हतार भयो कि के भयो कुन्नि लिबाङमा एक जोर मोजा छुट्यो र पनि माया मारिदिएँ ।
* * *
हामी चढेको गाडी माडी गाउँपालिकाको रहेछ । गाडीमा पालिका प्रमुख मित्रमणि, उपप्रमुख जयपुरी, जिल्ला समन्वय उपप्रमुख कर्मलाल परियार, उद्योग वाणिज्य सङ्घका अध्यक्ष केशव आचार्य । कवि चन्द्र जी.एम., कवि प्रेमप्रकाश, कवि युग सर्वनाम, गजलकार सम्फा घर्ती र मसँग ९ जना थियौँ । कर्मलाल सरसँग गफ गर्दै गयौँ । उहाँले खुब हँसाउँदै लानुभयो । उहाँको कुरा सुनेर सबैभन्दा धेरै त सम्फा बैनी हाँसिन् । मैले भनेँ, “लामो समयपछि तपाईँसँग सँगै यात्रा गर्न पाइयो सर ।”
“हो नि आक्रमण जी ।” कर्मलाल सरको मुखबाट आक्रमण शब्द सुनेर साथीहरू मतिर हेर्दै भन्नुभो, “आक्रमण… ?”
“हो, मेरो नाम कुनैबेला आक्रमण पनि थियो । मेरो नामको सन्दर्भमा लामो कथा लेखेको छु । पछि कुनै पुस्तकमा पढ्न पाउनुहुनेछ ।” मैले भनेँ । कवि प्रेमप्रकाशले संस्मरणमा तपाईँको नाम म लेख्छु भन्दै हुनुहुन्थ्यो । सायद यतिबेला लेख्दै हुनुहुन्छ होला ।
करिबकरिब एक घण्टाको यात्रापछि रोल्पा नगरपालिका साविकको धबाङ गा.वि.स.को गापा गाउँमा पुग्यौँ । गापा सङ्ग्राम दाइको गाउँ हो । उहाँ जनयुद्धको बेला जलजला साँस्कृतिक परिवारको अध्यक्ष हुनुहुन्थ्यो । दाइ हाँस्य कलाकार पनि हो । दाइसँग भेट नभएको १४ वर्ष भइसकेको थियो । सामाजिक सञ्जालबाट पनि टाढा हुनुहुन्छ । भूमिका मेडमसँग पनि त्यहीँ पुगेर भेट भयो । अभिवादन गरेँ । लिबाङमा हाम्रो भेट भएन है भन्दै हात अघि बढाउनुभयो । कसिलो हात मिलायौँ । उहाँले पनि जलजला साँस्कृतिक परिवारमा रहेर लामो समय काम गर्नुभएको थियो । सङ्ग्राम दाइको गाउँका जनताहरूले गाजाबाजा बजाएर भव्य स्वागत गर्नुभयो । उहाँले बाँसुरी बजाउँदै हुनुहुन्थ्यो । सानो सानो ज्यानको मान्छे अझै पनि उस्तै जोस रहेछ, उस्तै फुर्तिलो हुनुहुँदोरहेछ । हामीलाई स्वागत गरिसकेपछि दाइसँग कुराकानी गरेँ ।
– दाइ नमस्ते !
– नमस्ते भाइ !
– आरामै हुनुहुन्छ दाइ ?
– आरामै छु भाइ तपाईँलाई कस्तो छ बरु ? सुनेको छु तपाईँ कविता राम्रो लेखिराख्नुभएको छ रे ।
– म पनि आरामै छु दाइ । ड्युटी गरेर बचेको बाँकी समयलाई सदपयोग गर्छु कहिलेकाहीँ ।
– अनि तपाईँका छोराहरू सशक्त र अग्रज कता छन् ? छहारी भाउजू पनि आराम हुनुहुन्छ होला नि है ?
– छोराहरू विदेशतिर छन् । छहारी त बुढेसकालमा फेरि गर्भवती भएर दिमाग खराब भा छ यार भाइ ।
– ए…भइहाल्छ नि दाइ जन्मिनु मात्र पर्छ हुर्किहाल्छन् ।
– हा…हा… हा… म तिर हेरेर गलल हाँस्दै भन्नुभयो होइन-होइन भाइसँग मजाक गरेको हो ।
बड्डाको हसाउने बानी अझै’ उस्तै रहेछ । एकछिन त साँच्चिकै होला भन्थानेको थिएँ । पहिले-पहिले खुब हँसाउनुहुन्थ्यो । उहाँको हाँसो सँगै एकैछिन बिगतलाई सम्झिन पुगेँ । २०६४ सालतिर साविकको पाखापानी गा.वि.स. मा राति नाटक प्रदर्शन गर्दै थियौँ । सङ्ग्राम दाइलाई पिसाब लागेको रहेछ । मञ्चमा मसँग सम्वाद गर्दागर्दै ‘सिन्की झोलै झोल, म त बैरागी जान्छु खोलैखोल’ म त गएँ है सम्धी भनेर खोलातिर डौडेको मञ्चमा म एक्लै ट्वाँ परेको कुरा सम्झेर म पनि उहाँको हाँसोसँग हाँसो मिसाएँ । दुबैजना हाँस्यौँ ।
– लौ दाइ आज ओखरेनी छेडामा रमाइलो गर्नुपर्छ तपाईँ पनि हिँड्नुस् ।
– हुन्छ जान्छु भाइ भन्दै एउटा मादल र बाँसुरी बोकेर मेयरको गाडीमा चढ्नुभयो, र आधा घण्टा विश्रामपछि त्यहाँबाट हाम्रो यात्रा पुनः सुरु भयो ।
आधा घण्टा हिँडेपछि मुना दिदीको गाउँ पिवा आइपुग्यौ । मुना दिदी पनि पहिले जलजला साँस्कृतिक परिवारको उपाध्यक्ष हुनुहुन्थ्यो । दिदीसँग भेट नभएको पनि १४ वर्ष नै भइसकेको थियो । त्यहाँ पनि हामीलाई पिवा गाउँका जनताहरूले भव्य स्वागत गर्नुभयो । डवारे फूलको माला गलामा हाँसेपछि थाहा भयो कि हामी अब जलजलाको काखतिर आइपुग्यौँ । स्वागतस्वरुप किवीको फल चखाउनुभयो । स्वागत गर्नेरहरूको भीडमै मुना दिदी पनि हुनुहुन्थ्यो । दिदीलाई अभिवादन टक्र्याएँ । छोटो कुराकानी भयो । साथमा उहाँको छोरी पनि रहेछिन् । भान्जीलाई टाढैबाट चिनाइदिनुभयो । साथीहरूले छिटो जाने भनेपछि दिदीसँग बिदा मागेँ र सबैसँग बिदाइको हात हाल्लाउँदै-हल्लाउँदै हामी त्यहाँबाट हिँड्यौँ ।
हामी उकालो चढ्यौँ । चिसो बढ्दै थियो । लेकाली गुराँस, सरी, पिर्ले, ह्याँबुर, खासै, पाङ्गर, खर्सु, कर, क्याङ र धुपी सल्लाका रुखहरू देखिन थाले । थुप्रै भीर, थुप्रै घुम्ती काटेर, भन्ज्याङका थुप्रै-थुप्रै पत्रहरू छिचोलेर हाम्रो स्वागतमा उभिएका रुखहरूको छानोमुनि हुँदै गोधूलि सन्ध्यामा ओखरेनी छेडा पुग्यौँ । ओखरेनीबाट जेलबाङ झर्दा बायाँ साइडतिर धुपी सल्लाको हाँगा र सयपत्री फूलले सजाएर सुन्दर गेट बनाइएको थियो । मनमनै सोचे यही त होला नि विपनामगरले बोकी लिएको फूल । गेटमा झुण्डिएको आकर्षक ब्यानरमा लेखिएको थियो, ‘प्राकृतिक, धार्मिक र गुरिल्ला पर्यटनको मुख्य गन्तव्य जलजला ट्रेकिङमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछ, सुनछहरी गाउँपालिका पोबाङ रोल्पा’ । गेटबाट भित्र छिर्दा हामीलाई स्वागत गर्न दुईवटा लाइन उभिएको थियो । दायाँ साइडमा आशबहादुर पुन ‘रक्तिम’ मामाको टोली र बायाँ साइडमा पालिका प्रमुख धनबहादुर पुन ‘कीर्तिमान’ज्यूको टोली । गाजाबाजा बजिरहेको थियो । हाम्रो टिम दायाँ साइडबाट अघि बढ्यो । पालिका प्रमुखले पनि बायाँबाट हात उठाउँदै हुनुहुन्थ्यो हामीलाई । त्यही लाइनमा उभिनुभएको थियो, अमरजित पुन मामा र प्रतिभा मामा पनि । उहाँहरूसँग पनि जलजला साँस्कृतिक परिवारमा सँगै काम गर्ने अवसर जुरेको थियो । यसपालिको जलजला पदयात्राले थुप्रै पुराना प्रिय साथीहरूसँग भेट गराइदियो । ती आँधीमय दिनहरूको स्मरण गराइदियो । अमरजित मामासँग त रेडियो जलजलामा पनि सँगै काम गरेका थियौँ । त्यसबेलाका रमाइला किस्साहरू छन् । मौका मिले कुनैदिन फुकाऔँला । अचेल सुनछहरी गाउँपालिका ६ नं. वडाको वडा अध्यक्ष हुनुहुन्छ । मैले उहाँहरूसँग हात मिलाउँदै अघि बढेँ । घाममगर र विपनामगरसँग पनि त्यहीँ भेट भयो । हेल्लो…समीप दाइ ! हेल्लो… समीप दाइ ! लाइनको दायाँ र बायाँबाट मलाई चिन्ने भाइबहिनीहरूले हात उठाउँदै हुनुहुन्थ्यो । ‘तखेप छिन्नी गेदैसिया है भाइ, तखेप छिन्नी गेदैसिया है बैनी । (एकछिन पछि भेटौँला है भाइ, एकछिन पछि भेटौँला है बैनी)’ भन्दै हात मिलाउँदै गएँ तर छिट्टै खाना खाएर हाम्रो कार्यक्रम ‘ओखरेनी साँझ’ सुरु हुने भएकोले भेटघाट र कुराकानी गर्न सकिनँ । सरी है भाइबहिनीहरू हामी फेरि-फेरि भेट्ने छौँ । सामाजिक सञ्जालमा मसँग जोडिनुभएको छ भने दाइ बनेर बोलाउनुहोला । समय मिलाएर सबैसँग बोल्ने छु । भलाकुसारी गरौँला ।
हामी ओखरेनी पुग्ने बेला पानी पर्ला-पर्ला जस्तो गरेको थियो, तर परेन हामीले मौसमलाई खुशी बनायौँ । मौसम फिस्स हाँस्यो । कुहिरो टाढा-टाढा भाग्यो । वातावरण उत्सवमय थियो । जेलबाङबाट आएको पैसेरु नाच्ने टोलीसँग दिलिप मामा र म पनि नाच्यौँ । एकछिनपछि उहाँहरूले पैसेरु नाचलाई रोकेर सिङ्गारु नाच्नुभयो । हामी प्रकृतिको मुलायम तन्नामा बसेर मज्जाले हेर्यौँ । चौरभरि मानिसहरूको भीड थियो । यो आतिथ्य र मीठो प्रेमको लागि जेलबाङलाई जति धन्यवाद दिए पनि अपुग हुन्छ । हामी आभारी रह्यौँ सुनछहरी गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि र राजनीतिक दलहरूप्रति । जेलबाङ र जेलबाङबासी जनसमुदायप्रति । भव्य व्यवस्थापनको लागि बालकुराम सर र गेमी होमस्टे सुनछहरी ७, जेलबाङप्रति ।
झमक्क साँझ पर्यो । हामी सबैले खाना खायौँ, र ओखरेनी साँझ सुरु भयो ।
‘कम्मरैमा पटुकी कसेर
मुसु-मुसु हाँसेकी बसेर
रुकुम मैकोट, रुकुम मैकोट…
आँखा नि राम्रै हो मन पर्यो नि ओठ’
जेलबाङका कलाकार बैनीहरूले हामी पदयात्रीहरूको स्वागतस्वरुप खुस्मा चलचित्रमा रहेको यो मीठो गीतमा नृत्य प्रस्तुत गरेर ओखरेनी साँझको ढोका खोलिदिनुभयो । त्यसपछि अमरजित पुन मामाले बाँकी कार्यक्रम सञ्चालन गर्न मञ्चमा मलाई बोलाउनुभयो । साथीहरूले मलाई कार्यक्रम सहजकर्ताको भूमिका दिनुभएको थियो ।
‘हजारौँ हजार अपठ्याराहरू
छिचोल्दै-छिचोल्दै आएँ ।
बसेर जलजलाको एउटा थुम्कोमा
राखेर जेलबाङ बग्ने खोलीलाई– साक्षी
दिनुछ तिमीलाई– बुकी फूलको थुङ्गो
त्यही फूलमै हुनेछन्
भावनाका छालहरू/प्रेमका रङहरू ।
आउनू होइ युङका आउनू
म तिमीलाई पर्खि बस्नेछु ।’
कविताका केही हरफहरूवाट कार्यक्रमको सुरुवात गरेँ । कवि साथीहरूलाई पालैपालो मञ्चमा बोलाएँ । हामीसँगै उभिएका खर्सुबोटहरूको सुसाइसँगै कविहरू कवितामार्फत बहनु भयो । उता मञ्चको अगाडिबाट तालीको सङ्गीत बजिरह्यो । कार्यक्रमको बीच बीचमा कलाकार बासना बुढामगर र रानीमगरले साङ्गीतिक प्रस्तुति दिनुभयो । सोही कार्यक्रमको बीचमा वर्षमान सरले छोटो मन्तव्य राख्नुभयो । साथमा परिवर्तन युवा समूह सुनछहरी–७, रुलबाङ, जेलबाङका कलाकारहरूले पनि दमदार नृत्य प्रस्तुत गर्नुभयो । करिबकरिब २ घण्टापछि ओखरेनी साँझ सकियो । मैले कार्यक्रमको बिट मारेँ । कार्यक्रम सकिसकेपछि साथीहरू सुत्न जानुभयो । युग सर्वनाम र म रङ्ग भयौँ, भङ्ग भयौँ । अबेरसम्म जेलबाङका साथीहरूसँग नाच्यौँ, गायौँ, रमाइलो गर्यौँ । बालकुराम सरसँग पनि लामो समय गफ लगायौँ र त्यहीँ नजिकको घरमा सुत्यौँ । जहाँ होमस्टेले मेच चलाइरहेको थियो ।
बिहानपख जाडो भएको थियो । जाडो भगाउनको लागि ४:०० बजे उठेर उद्योग वाणिज्य सङ्घका अध्यक्ष केशव आचार्यज्यूले पलङमुनि ग्यालेनमा राखिएको पानीलाई तीनपाने सम्झेर गिलासमा राख्नुभयो र हामी तीनै जनाले सक्क फालेर पिएको त्यो घटना जीवनभर आइरहने सम्झना बन्यो । जोखबहादुर महरा सर र उहाँको साथी साक्षी हुनुहुन्छ । खित्का छोडेर खुब हाँस्नुभएको थियो । बिहान अबेरसम्म भित्रै बसिरह्यौँ । हामी बाहिर निस्किँदा साथीहरू सबै हिँडिसक्नुभएको थियो । हिँड्दा हिँड्दै आफ्नो हुलबाट छुटिजाने मालचरीजस्तै त्यहाँबाट हाम्रो ग्रुप छुट्यो । जेलबाङको जेठान एल.बी. पुनमगर र कवि एल.बी. साथीले भने हामीलाई पर्खिरहनुभएको थियो । साथीहरूले बिदाइ गर्नुभयो र हृदयभरि एउटा अमीत सम्झना बोकेर हामी त्यहाँबाट हिँड्यौँ । हतार भयो कि के भयो कुन्नि ओखरेनीमा एउटा टोपी छुट्यो र पनि माया मारिदिएँ ।
* * *
ओखरेनीबाट गुरिल्ला पदयात्रालाई दायाँ साइड पारेर हामी धरमपानी पहाडको बाटो भएर उकालो लाग्यौँ । एल.बी. पुनमगर जेठान, एल.बी. साथी, युग सर्वनाम र म ४ जनाको ग्रुप बन्यो । धबाङ सिरानीको घनाजङ्गलमा कराउने पिउरे चराको हुहुई…हुहुई… आवाजसँगै हामी पनि लामो-लामो सुस्केरा हाल्दै उकालो बाटो चढ्यौँ । एल.बी. पुनमगर जेठान र एल.बी. साथीसँग पनि भौतिक भेट पहिलो थियो हाम्रो । सामाजिक सञ्जालमा भने पहिले नै जोडिएका थियौँ । शरीरबाट पसिनाको धारा छुटिरहेको थियो, र पनि थकाइको महसुस थिएन । मनभरि उमङ्ग, नयाँ साथी, नयाँ यात्रा हाँस्दै-हाँस्दै पाइलाहरू अघि बढायौँ । यो संस्मरण लेख्दै गर्दा युग सर्वनामलाई सम्झेर अलि-अलि रिस उठेको छ । ओखरेनी छेडामा खाने चिज किनेर तपाईँको गोजीमा राख्नुस् भाइ बाटोमा चाहिन्छ भनेर दिएको थिएँ । माथि धरमपानीको आँगनमा पुगेर तपाईँको गोजीको खाने चिज निकाल्नुस् अब खाम भनेको त खाली गोजी पो देखाउनुहुन्छ । हुन त जाकेट नै धन्न छुटेको थियो बाटोमा । खाने चिज त खसिजाने नै भैगो ।
जलजला एरियाको सबैभन्दा अग्लो भाग धरमपानी जहाँ सहिद स्तम्भ बनाइएको छ । त्यसको नजिक-नजिक पुग्दै थियौँ । अगाडि जम्बो टोली गएकोले डाँफेचराहरू साइड लागेछन् क्यारे । हामीले नजिकबाट देख्न पाएनौँ । कतै टाढा हावासँग बेग मारिरहेको दृश्य भने देख्न सकिन्थ्यो । जलजलामा डाँफे, मुनाल, कालिज, चिहिर, का बाजा, पिउरे, कुडुलडुल, फिफरलगायत सयौँ प्रजातिका पन्छीहरू पाइन्छन् । त्यस्तै वन्यजन्तुहरू बाघ, भालु, थार, बँदेल, रतुवा, घोरल, याप, स्याल, सेतो बाँदर र विश्वमै लोपोन्मुख रेडपाण्डा पनि जलजलामा पाइन्छ । जनयुद्धको बेला रेडियो जनगणतन्त्र पनि जलजलाको जङ्गलबाट प्रसारण गरिएको थियो ।
दुई घण्टा जति हिँडेपछि वर्षमान सर, ओनसरी मेडम¸ सिजल सर¸ नगरपालिकाका मेयर सुरेन्द्र घर्ती र बालकुराम सरहरूको टोलीलाई भेटायौँ । कविहरूको टोली त्योभन्दा पनि अघि हिँडिसकेछ । मैले जलाकी र थानहरू भएका ठाउँहरूमा बस्न रुचाउँथे । त्यहाँ बसेपछि जल देवी र सिमेभूमे दाइनो बनाउने बहानामा आफू पनि दाइनो भइने । एल.बी. पुनमगर जेठानले चोकोपन बोक्नुभएको रहेछ युग सर्वनामले आलु । बाटोमा बस्दै चोकोपन र आलु खाँदै फेरि हिँड्दै सहिद स्तम्भमा पुग्यौँ । त्यहाँ लुङरी गाउँपालिकाको टोलीसँग भेट भयो । उहाँहरूको फोटो सेसन चल्दैरहेछ । थबाङ गाउँपालिका ४ नं. वडा उवाका वडा अध्यक्ष हिक्मत घर्तीमगरको टोलीसँग पनि भेट भयो । हामी त तपाइहरू ढिला गर्नुभयो र लिन आएको हो भन्दै हुनुहुन्थ्यो । स्तम्भ पहिले गोलोकारमा बनाइएको थियो । जनयुद्धको बेला तत्कालीन शाही नेपाली सेनाले टोपले हानेर ढालेपछि अहिले पाँचतारे आकारमा बनाइएको छ । साथीहरू भित्रबाट छिरेर स्तम्भ टुप्पोमा जानुभयो र फोटो खिच्नुभयो । अञ्जलीको बुवा मामा महेन्द्र कुमार गुरुङसँग तलै बसेर हामीले फोटो खिच्यौँ । साथीहरूले धित मारेर झरेपछि धरमपानीबाट जलजलातर्फ हिँड्यौँ ।
हिउँद सुरु भएकोले फूलहरू फुलेका थिएनन् । अब हिउँ पर्ने बेला भएको छ । हिउँदमा परेको हिउँ फागुन महिनासम्म रहन्छ । उस्तै परे फागुन महिनामा थपिदियो भने चैत्र वैशाख महिनासम्म रहन्छ अलि सेपिलो ठाउँहरूमा । हिउँदभरि हिउँको पगरी बाँधेर उभिन्छ जलजला । साउन, भदौ महिनामा जलजला फूलहरूले सजिन्छ । त्यसबेला रथबिरथ, चेमला, नारासगुन, बाबनी, लेत, पात, बिन्जुरी, बुम, ढोङ्ग्रे, प्रगिले, रातो टरा, सेतो टरा, लगायत सयौँ थरीका फूलहरू फुल्छन् । चैत्र, वैशाख महिनामा हरेक रङका लेकाली गुराँसहरूको साथमा जिला, हाङ वै, गन्दलगायत थुप्रै फूलहरू फुल्छन् । जलजलादेखि उत्तर र पश्चिम साइडतिरको भीरमा वैशाख र जेठ महिनादेखि उता नो ङन (लसुनेसाग) पाइन्छ । हाम्रो बैँसको बेला खुब टिप्न जान्थ्यौँ । जलजलामा खरी ढुङ्गाको खानी पनि छ । हामी स्कुल पढ्दा कालो पाटीमा लेख्न जलजलाबाटै लगिदिनुहुन्थ्यो ठूला मान्छेले । पहिले गाउँमा हुँदा वर्षमा दुईपटक जसरी नि पुगिन्थ्यो जलजला । एकपटक नो ङन टिप्न अर्कोपटक बर्खामा फूल टिप्न । झोला भरि-भरि फूल टिपेर गाउँमा बाँड्न जान्थ्यौँ । २२ थरीको फूल टिपेर दिएपछि माया बढ्छ रे भन्थे बुढापाकाहरू । हामी पनि २२ थरीका फूल टिपेर मन परेको मान्छेलाई दिन्थ्यौँ । चेलीबेटीहरूसँग पनि फूल टिपेर साटासाट गर्थ्यौँ । गाउँमा फूल लगेर दिँदा अहो…त्यति टाढाबाट बुकी फूल टिपी ल्याइदियो । भार भयो यो भार अब मैले कहिले तिर्न सकुँला र भन्थे उमेर ढल्किँदै गएका आफन्तजनहरू । यसपटक जलजलालाई भेट्न अलि लामो समय लाग्यो । लकडाउनको समय गाउँका साथीहरूसँग गएको थिएँ ।
‘भेटेर तिमीलाई सोधूँ-सोधूँ लाग्यो
लेखेर तिम्रो गीत गाऊँ-गाऊँ लाग्यो
प्यारो जलजला…’
बेलाबेलामा गीतकार मणि थापाले रचना गर्नुभएको गीत गुनगुनाउँदै हिँडे बाटोभरि । चेमला र जोरमुठा गारको बीचैबीच हुँदै, माछापुच्छ्रे, धौलागिरी र सिस्ने हिमालहरूसँग मुस्कान साट्दै-साट्दै तुरेनी बेला जलजला पुग्यौँ ।
क्याम्पको अलिमाथि एउटा थुम्कोमा कवि दिलिप मामा एक्लै बसिरहनुभएको थियो । ‘बड्डी चिन्ता नगर है औँशीको अघिल्लो दिन घर लिपपोतमा सघाउन आइपुग्छु । अहिले म पदयात्रामा कविता सुन्दै सुनाउँदै जलजला आइपुगेको छु ।’ सायद माइजुलाई यसरी सम्झाउँदै हुनुहुन्थ्यो क्यारे । होइन-होइन यो त मेरो मनले सोचेको पो हो । धरमपानीबाट मेरो कमरेड दिलरानीलाई यस्तै भनेको थिएँ मैले । या कुनै मीठो सिर्जनाको परिकल्पनामा पो हुनुहुन्थ्यो कि ? त्यो त थाहा भएन । जाँऊ हिँडनुस् मामा भनेको एकछिन पछि आउँछु भन्नुभयो र हामी तल झर्यौँ ।
मौसम सर, थबाङ गाउँपालिका प्रमुख सविन बोबो, उपप्रमुख रोषणी फुबु, हेमन्त जेठान, ३ नं. वडा मिरुलका अध्यक्ष जनक काकालगायत थबाङ गाउँपालिकाका साथीहरूसँग क्याम्पको अगाडि पट्टी भेट भयो । हाम्रो टोली क्याम्पको दक्षिण पट्टीको साइडमा बसेको रहेछ । मादल र बाँसुरी बजाउँदै रमाइलो गर्दै हुनुहुन्थ्यो । चन्द्र जी.एम., एम.पी. सरोवर, घाममगरलगायतका साथीहरू हामीलाई देखेर मुसुमुसु हाँस्नुभयो । कवि प्रेम प्रकाशले चिम्से-चिम्से आँखाहरू ठूला-ठूला बनाउँदै हेर्नू भो । अहो… कविजीको पनि कति धेरै रिस हो क्या तर एकछिनमा खुशी हुनुभएको थियो । आजभोलि कहिलेकाहीँ फोन गर्दा पनि त्यही कुरा भनिरहनुहुन्छ । दाइहरू कता जानुभयो भनेर हामीलाई चिन्ता लागेको थियो । आइपुग्नुभयो, खुशी लाग्यो । ग्रुपसँग नआएर कता हराउनुभयो के तपाईँहरू ? सम्फा बैनी र विपना बैनीले पनि कराए । सोनो गल्ती गरेपछि चेलीहरूको यति कुरा त सहनै पर्यो । हाँस्नु, रिसाउनु र चिन्ता गर्नुको पछाडि एउटा राज थियो ।
सबैले खाना खाइसकेको रहेछ । हामी पनि खाना खान मेचतिर लाग्यौँ । जलजलामा ‘थबाङ सामुदायिक होमस्टे’ले व्यवस्थापन गरेको रहेछ । अमीत घर्ती दाइ, बिनु दिदीलगायत त्यहाँ खट्नुभएका साथीहरूसँग भेट भयो । हामीले खाना खाइसकेपछि थबाङ गाउँपालिकाले परिचयात्मक कार्यक्रम राख्यो । हामी कार्यक्रममा सहभागी भयौँ । कार्यक्रम सँगसँगै थबाङ गाउँपालिकाका चेलीबेटीहरूले स्वागतस्वरूप पदयात्रीहरूको हातहातमा डोकोबाट बुम फूल निकालेर दिनुभयो । बुम धुपी सल्ला प्रजातिकै रुख हो, तर त्यसले नयाँ पालुवा फेर्दै गर्दा मुडोतिरको भाग निकै सुन्दर देखिन्छ । त्यसलाई फूलकै रूपमा लिइन्छ । ठाउँअनुसार यसको नाम अलग-अलग पनि हुनसक्छ । यसै बीचमा वर्षमान सरले छोटो मन्तव्य राख्नुभयो र परिचयात्मक कार्यक्रम समापन भयो ।
नेपालमगर सङ्घ केन्द्रीय कमिटीका उपाध्यक्ष एवम्मगर प्राज्ञिक परिषद् नेपालका सदस्य, साहित्यकार जीवनप्रवेश रोकामगर दाइ र मिरुलको बलिदान दाइ पनि थबाङबाट आइपुग्नुभयो । उहाँहरूसँग हात मिलायौँ । त्यसपछि ‘जलजलामा कविता’ सेसनको तयारीमा लाग्यौँ । त्यहाँ माइक र बत्ती थिएन त्यसैले ठूला-ठूला काठका मुढाहरू सङ्कलन गरेर आगो बाल्यौँ र आगोको वरिपरि कविता सुन्ने साथीहरू बस्नुभयो । हामी नजिकैमा रहेको अर्को काठको मुढोमा बसेर कविता सुनायौँ । सहजकर्ताको भूमिका युग सर्वनामले गर्नुभयो । नवीन लोचन सर, देवी गुरुङ मेडम र सविन विश्वकर्माले पनि आफ्नो रचना सुनाउनुभयो । हाम्रो रचना वाचनमात्र भएकोले कार्यक्रम छिट्टै विसर्जन गर्यौँ । जलजलामा कविता कार्यक्रम सकेपछि साथीहरू कोही सुत्न जानुभयो । कोही साथीहरू भने केही समय हामीसँगै बस्नुभयो । हामी भने फेरि पनि रमाइलो गर्नेतिर लाग्यौँ । राति १२:०० बजेतिर युग सर्वनामलाई छोडेर किसान भाइसँग सुत्न गएँ । किसान भाइसँग एक जमाना साँस्कृतिक मोर्चामा केही समयसँगै काम गर्ने मौका मिलेको थियो । ‘साइ पनि बैरागी, मै पनि बैरागी’ भन्नेहरू नभेटिएर र पो नत्र त रातै कटाइदिन्थेँ । जलजलामा भने युवा सर्वनाम र मेरो सुताई पनि अलग-अलग क्वाटरमा भयो ।
सुकेको बुकी घाँसमाथि एउटा कम्बल बिछ्याइएको थियो । त्यहीँ गएर पल्टिएँ तर निद्रा पटक्कै लागेन । अतीतका तितामीठा पलहरू बल्झिरहे । सम्झनाका बाछिटाहरूले भिजाइरहे । धूमिल-धूमिल दृश्यहरू नेत्रको पर्दामा आएर अल्झिरहे । कोल्टे फेरिरहेँ, सुस्केरा तानिरहेँ । यो पदयात्राबाट सम्झिरहेँ त्यो ‘आगोका यात्रा’ ।
‘तिमीले जङ्गको ऐलान गर्दा
तिमीले जीतको सरगम गाउँदा
फूलैफूलले सजिन्छ यो मन
जूनैजूनले चम्किन्छ जीवन’
यो गीत कवि तथा गीतकार गंगामुक्ति पुनले लेख्नुभएको हो । स्वर्गीय विजय बाठामगरले सङ्गीत गर्नुभएको छ । माडीचौर गंगामुक्ति सरको घरको सानो कोठामा रेकर्ड गरेका थियौँ, सोनी वाकमेनमा । प्रतिभा माइजू र रेजीना बैनीले गाउनुभएको थियो ।
२०६४ सालको मध्यसाउनतिर फर्किएँ । जलजला साँस्कृतिक परिवारले त्यही ठाउँमा ‘आगोका यात्रा’ म्युजिक भिडियो बनाएको थियो । यो गीतको भिडियो त्यही ठाउँमा गरेका थियौँ । जहाँ म पल्टिरहेको थिएँ । अनिषा नाचेकी थिइन् । त्यसबेलासम्म अनिषासँग हाम्रो विवाह भएको थिएन । त्यतिबेला घरहरू बनेका थिएनन् । तिरपालको गोठ बनाएर बसेका थियौँ । अचेल ती साथीहरू कहाँ होलान् ? के गर्दै होलान् ? सबै सबैलाई सम्झिरहेँ । मनले मनलाई सोधिरहेँ । रेजीना बैनीको त गीतसङ्गीतमा राम्रै प्रगति भइरहेको छ । पहिले-पहिले सामाजिक सञ्जालमा कुराकानी भइरहन्थ्यो । आजभोलि पातलिएको छ । सायद हामी दुबैजना व्यस्त भयौँ । उनी गीतसङ्गीतमा म मालिकको काममा । भामापुपभित्र छिरेर बाहिर निस्किँदा सङ्ग्राम दाइ बौलाएको नाटक गरेर सबैलाई टाउको टाउकोमा अगुल्टोले कुटेको सम्झेर एक्लै-एक्लै हाँसिरहेँ ।
बिहानीपख निद्रा देवीको काखमा थोरै निदाएछु तर छिट्टै ब्युँझिएँ । रातभरिको अनिँदो र साँझको अलिकति सोमरसले हल्का घुमाइरहेको थियो । सबै साथीहरू पनि आ-आफ्नो क्वाटरबाट बाहिर निस्किनुभयो र हामीले बजूबराहको दर्शन गर्यौँ । वर माग्यौँ । साथीहरूले के के माग्नुभयो कुन्नि मैले त मेरो लागि केही पनि मागेन । एकदिन मरिजाने चोलामा कति स्वार्थी भइरहनु मरेपछि कि त माटोमुनि कि त चितामाथि न हो शरीर । बरु प्रकृतिकै लागि वर मागिदिएँ । नेपाल सरकारले मुलकभरका एक सय वटा गन्तव्यमध्ये जलजलालाई पर्यटकीय स्थलको रूपमा सूचिकृत गरेको लामो समय भइसक्यो । अझै पनि भने जस्तो पर्यटन प्रवर्द्धन हुन सकिरहेको छैन । अब छिट्टै सरोकारवाला र निर्वाचित जनप्रतिनिधिहरूको सद्बुद्धि खुलोस भनेर बजूबराहसँग वर मागेँ । त्यहाँबाट अलि तल भामापुपको दर्शन गर्न गयौँ ।मगर खाम भाषाबाट ओडारलाई पुप भन्छन् तर आजभोलि भामा ओडार, भामा गुफा भनेर प्रचार-प्रसार गरिन्छ । त्यहाँकामगर समुदायको भाषा, संस्कार, संस्कृति र सभ्यतासँग जोडिएको कारण जबर्जस्ती नेपालीकरण नगरे पनि हुन्थ्यो । भामापुपलाई भामापुप नै रहन दिनुपर्छ । अर्थ सही नै भएपनि यसरी भाषालाई मार्नुहुन्न भन्ने लाग्छ । केही साथीहरू मोबाइलको लाइट बालेर भित्रसम्म जानुभयो । केही बाहिर बस्यौँ । पहिलेको भन्दा अहिले धेरै राम्रो गरिएको रहेछ । पूजा गर्ने ठाउँमा तलबाट गारो उठाएर अलि मुक्त बनाइएको थियो । जताततै प्लास्टिक र कपडाका टालाहरू फालिएको रहेछ । साहित्यकार र पत्रकार मिलेर एकछिन सफा गर्यौँ र त्याहाँबाट वापस भयौँ ।
क्याम्पमा पुग्दा थबाङ सामुदायिक होमस्टेका साथीहरूले खाना तयार बनाइसक्नुभएको थियो । खाना खायौँ । अब छुट्नुपर्ने बेला आयो । साथीहरू सबै थबाङसम्म नझर्ने कुरा आयो । जीवनमा भेटिनु र छुटिनु एउटा रीत हो । मनले नमान्दा नमान्दै पनि त्यही रीत पूरा गर्नुपर्ने बेला भयो । वर्षमान सरको टोली सलाप धुरीतिर लाग्यो । त्यतैबाट गाडी भेटेर थबाङ जाने भनेर । प्रेमप्रकाश सर पनि यतैबाट उवातिर जान्छु भनेर टाउकोमा ढाका टोपी ढल्लाउँदै हात हल्लाउँदै सलाप धुरीतिरै लम्किनुभयो । चन्द्र जी.एम. सर, सम्फा बैनी, दिलिप बुढामगर मामा, एम.पी. सरोवर सरलगायतका साथीहरू सकेसम्म परिवर्तन गाउँपालिकाको गाडीमा जाने भनेर हतारै हतारमा थबाङ जाने बाटो सोझ्याउनुभयो । रक्तिम मामा, किर्तिमान सर, युग सर्वनाम भाइ, विपनामगर बैनी, घाममगर साला, एल.बी. साथी सर, प्रतिभा मामा, एल.बी. पुनमगर जेठानलगायत सुनछहरी गाउँपालिकाका साथीहरू जेलबाङ झर्ने खोलीको किनारै किनार यात्राको गति बढाउनुभयो । म भने अलि पर देखिने खरी ढुङ्गाको पहाडजस्तै उभिरहेँ । हतार त मलाई पनि थियो तर साथीहरूको मायाले अल्झाएछ क्यारे क्याम्पको माथिल्लो साइडमा देखिने चेमला फूल र बुम फूलको रुखझैँ साथीहरू हिँडेको बाटो हेरेर एक्लै टोलाइबसेछु । एकछिनपछि उत्तरबाट आउने सिस्ने हिमालको शीतलु स्वासले कानमा सिर्कनी हान्यो र म झसँग ब्युँझिएर थबाङ झर्ने बाटो तताएँ । हतार भयो कि के भयो कुन्नि जलजलामा एउटा गलबन्दी छुट्यो र पनि माया मारिदिएँ ।
* * *
अघि जाने साथीहरूलाई ओरालो बाटोमा भेटाएँ ।
‘तिम्रै निम्ति बरु यो ज्यान गए गइजाला
तिमीसँग गहिरो माया बस्यो जलजला’
सहिद चुनू गुरुङले गाउनुभएको गीत गुनगुनाउँदै, पुर्वी रुकुमका गाउँबस्ती र प्रकृतिको मनोरम सिर्जना ती सुन्दर डाँडाकाँडाहरूलाई नियाल्दै-नियाल्दै झर्यौँ । चलाबाङमा परिवर्तन गाउँपालिकाका प्रमुख थमन सरहरूसँग भेट भयो । उहाँहरू अलिअघि झर्नुभएको रहेछ । गाडीमा सिट फुल भएकोले थमन सरले हामीलाई बाइकको व्यवस्था मिलाइदिनुभयो । सम्फा बैनी र चन्द्र सर लिबाङ जानुपर्ने भएकोले उहाँहरूको गाडीमै जानुभयो । अब भने हामी ४ जना मात्रै भयौँ । दिलिप बुढामगर, एम.पी. सरोवर, विकास खड्का र म । हामी थबाङ खोलाको पुलसम्म हिँडेर गयौँ । पारि थबाङ गाउँमा नजाने सल्लाह भयो । एकछिन बाटोको डिलमा बसेर थबाङ खोलाको सुसाइसँग थकाइ बिसायौँ । केही समयपछि बाइक लिएर साथीहरू आउनुभयो र मिरुलसम्म सँगै गयौँ । मलाई लैजाने साथी थबाङतिरै फर्किनुभयो । हामी लाटाबाङ दीपा भाउजूको पसलमा बसेर चाउचाउ पकाएर खायौँ । जलजलामा बिहानै खाना खाएकोले भोक लागि रहेको थियो । मुक्तककार निलाञ्जला भारद्वाज दिदीको मुक्तकसङ्ग्रह ‘निलाञ्जला’ बोकेर लगेको थिएँ । छुट्नेबेला एम.पी. सर र दिलिप मामालाई एकएकप्रति दिएँ । एकप्रति लिबाङमा मुक्तकार दीपक भाइलाई दिएको थिएँ । उहाँहरू त्यहाँबाट हिँड्नुभयो । म भने सुकबहादुर (सुके) जेठान र उवाली बोबोसँग तिहार मनाउनतिर लागेँ ।
यात्रामा मैले जे जे छुटाउँदै आएँ सबै माया मारिदिएँ तर मैले मलाई माया मार्न सक्दिन र छुट्ने चाह छैन यति छिट्टै । जीवनमा अझ धेरैथोक कामहरू गर्न बाँकी छन् । तपाईँहरूको आँखाबाट कसरी छुटूँ । मेरा आफन्तजन र घरपरिवारहरूको साथबाट कसरी छुटुँ । जुनकीरीको लाइटमा ताराहरूसँग बर्बराउँदै म बिसौना, दाइपो हुँदै असारे मेरो दरवारमा पुगेँ ।
समग्रमा भन्नुपर्दा जलजला पदयात्रा¸ २०८१ निकै सुन्दर रह्यो । यात्रा रङ्गिन बन्यो । प्रत्येक पाइला र प्रत्येक पलहरू ऐतिहासिक बने । एकबारको चोलामा सबैसँग फेरि भेट होला या नहोला तर सम्झनाहरू स्मृतिमा विराजमान रहिरहने छन् । यो पदयात्रापछि निर्वाचित जनप्रतिनिधि र सरोकारवालाहरूले जलजला पर्यटन प्रवर्द्धनका लागि कस्ता खालका योजनाहरू बनाउलान् त्यो उहाँहरूको विषय भयो । मलाई के लाग्छ भने जलजला वरिपरिका गाउँहरूबाट जलजला जाने प्रत्येक बाटाहरूमा जलजलाको थोरै नजिकतिर बेसक्याम्प बनाउनुपर्छ र त्यो बेसक्याम्पसम्म मोटरबाटो र केन्द्रीय लाइन जोडेर केबुलकार अनिवार्य रूपमा पुर्याउनुपर्छ । त्यसको वरिपरि हेलिप्याडहरू बनाउनुपर्छ । बेसक्याम्पभन्दा अगाडि मोटोरबाटो र केबुलकार लानुपर्दैन र लानुहुन्न । ता कि एउटा घोडावालाको जीवन जलजलामा फूल्ने चेमलाजस्तै फूलोस् । थाप्लोमा नाम्लो राखेर हिँड्नेहरूको भविष्य रथबिरथ फूलजस्तै रङ्गिन बनोस् । बाटोमा मकै खाजा र तीनपाने बेच्नेहरूको चेहरा बिन्जुरी फूलजस्तै हाँसोस् । निराशा बोकेर हिड्ने युवाहरूको मनमा जलजलाजस्तै फराकिलो आशा खुल्दै जाओस् । मेरो भन्नु यति रह्यो ।
अन्तमा लेख्नुपर्ने कुराहरू धेरै छुटे होलान् । नलेख्नुपर्ने कुराहरू कहीकतै लेखिए होलान् । सबैसँग माफी माग्दै पदयात्रामा सामेल सबै पदयात्रीहरूलाई यही संस्मरणमार्फत् न्यानो सम्झना पठाएँ । प्रिय पाठकवर्गहरू ! कास्की पोखरादेखि रोल्पाको थबाङसम्म संस्मरणमार्फत् तपाईँहरूलाई स्मरमण गराएँ । शब्दहरूमार्फत् दृश्य देखाउने प्रयास गरेँ । पढिदिनुभएकोमा धेरै धेरै धन्यवाद !
०००
