गेथाती

तकसेराका गाऊँहरूलाई ऐतिहासिक जीवित सङ्ग्राहलय घोषित


१५ माघ २०८१, मंगलवार

पुथा उत्तरगङ्गा गाउँपालिकाले रुकुम पूर्वको तकसेराका गाउँहरूलाई ऐतिहासिक जीवित सङ्ग्राहलयको रूपमा घोषणा गरेको छ। गाउँपालिकाको ३५औँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो। गाउँपालिकाका प्रवक्ता टिकासाई घर्तीका अनुसार तकसेरामा अझै पनि पुरातात्त्विक महत्त्वका परम्परागत घरहरू सुरक्षित अवस्थामा रहेका कारण यसलाई ऐतिहासिक जीवित सङ्ग्राहलयको रूपमा घोषणा गरिएको हो।

तकसेराका घरहरू विशेष प्रकारले एकअर्कासँग जोडिएका छन्, जसले स्थानीय समुदायबीचको आपसी सम्बन्धलाई अझ बलियो बनाएको छ। आधुनिक विकासक्रमसँगै कङ्क्रिटका घरहरू निर्माण हुँदै गए पनि यहाँका परम्परागत शैलीका घरहरू अझै यथावत रहेका छन्। पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनिराज घर्तीका अनुसार यदि यी घरहरूको उचित संरक्षण गरियो भने आउने पुस्ताले आफ्ना पुर्खाका मौलिक घर संरचनाहरू अध्ययन गर्न पाउनेछन्। साथै, केही घरहरूको छाना पुनःनिर्माण गर्ने योजना भए पनि मौलिकता भने जोगाइने जानकारी दिएका छन्।

तकसेरा ऐतिहासिक मात्र नभई पर्यटकीय हिसाबले पनि महत्वपूर्ण गन्तव्य बन्न सक्ने देखिएको छ। यहाँ अहिले पनि दैनिक रूपमा आन्तरिक तथा बाह्य पर्यटकहरू भ्रमण गर्न आउने गरेका छन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव वि.क. ले तकसेरालाई पर्यटन प्रवर्द्धनको प्रमुख आधार बनाउँदै स्थानीय अर्थतन्त्रलाई मजबुत पार्ने लक्ष्य रहेको बताएका छन्।

तकसेरालाई ऐतिहासिक जीवित सङ्ग्राहलय घोषणा गर्नुका पछाडि इतिहास जगेर्ना गर्दै पर्यटनमार्फत आर्थिक समृद्धि ल्याउने उद्देश्य रहेको गाउँपालिका स्रोतले जनाएको छ। परम्परागत घरहरूको संरक्षण, पर्यटकलाई आकर्षित गर्ने पूर्वाधार निर्माण तथा स्थानीय संस्कृति प्रवर्द्धनका कार्यक्रमहरू सञ्चालन गरिने योजना छ।

यो निर्णयसँगै तकसेरालाई नेपालकै विशेष ऐतिहासिक गाउँहरूमध्ये एकका रूपमा स्थापित गर्ने अवसर सिर्जना भएको छ। स्थानीयवासी तथा सरोकारवालाहरूले तकसेराको संरक्षण र प्रवर्द्धनमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका छन्।