गेथाती

गीतमा समाजको कथा उनेर गाउँदागाउँदै आफ्नो कथा लेख्न बिर्सेकाहरूलाई सम्मान


८ फाल्गुन २०८१, बिहीबार

पूर्व सभामुख ओनसरी घर्तीको प्रमुख अतिथिमा २०८१ फागुन ७ गते सांस्कृतिक तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

रोल्पा जिल्ला परिवर्तन गाउँपालिकाअन्तर्गत सहिदस्मृति रंगशाला धामाचौरमा भव्य कार्यक्रमको आयोजना गरी जनयुद्ध र जनआन्दोलनमा योगदान पुर्‍याउने जनकलाकारहरूलाइ सम्मान गरिएको हो ।

परिवर्तन गाउँपालिकाको आर्थिक सहयोग र रोल्पा कला साहित्य प्रतिष्ठानको सहकार्यमा गरिएको उक्त कार्यक्रममा पूर्वसभामुख ओनसरी घर्तीले मन्तव्य राखेका थिए । मन्तव्यको क्रममा पूर्वसभामुख ओनसरी घर्तीले चेतनामूलक कला र साहित्यले मनोरञ्जन मात्र नभएर मानिसको जीवन र समाजलाई परिवर्तनको बाटोतिर दोर्‍याउने गरेको बताए । उनले थप्दै भने- ‘सम्मानले स्रष्टाको सम्मान मात्र नभएर यसले स्रष्टामा जिम्मेवार र थप उर्जा प्राप्त हुने भएकोले अन्य गाउँपालिकाहरूले पनि यस्ता कार्यक्रमहरू गर्दा राम्रो हुन्छ ।’
मन्तव्यको क्रममा सभामुख घर्तीले जनयुद्ध कुनै व्यक्तिको स्वार्थको लागि नभई दमन र अत्याचारविरुद्ध भएको समेत जिकिर गरेका थिए साथै दशवर्षे जनयुद्धमा साहित्य र कलाले महत्त्वपूर्ण योगदान समेत गरेको बताएका थिए । जिल्ला समन्वय समिति रोल्पाका निवर्तमान प्रमुख राजबहादुर बुढामगरले साहित्यकार र कलाकारको कलाले गर्दा राजतन्त्रको अन्त्य भइ लोकतान्त्रिक गणतन्त्र स्थापना हुन सफल भएको बताउँदै हिजोको दशबर्षे जनयुद्धमा समेत साहित्य र कलाले महत्त्वपूर्ण योगदान पुराएको जिकिर गरेका थिए ।

परिवर्तन गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढामगरले हिजोको उत्पीडन वर्गको विरुद्ध सङ्घर्ष गरेको बताउँदै सहिद नभएको भए आज गाउँपालिका बन्ने अवस्था नआउने र यो परिवर्तनको लागि योगदान र सङ्घर्ष गर्ने व्यक्तिहरूलाई स्थानीय सरकारले अरु नसके पनि सम्मान गर्नु पनि ठूलो कुरा भएको बताए । परिवर्तन गाउँपालिकाका निवर्तमान उपाध्यक्ष हितकुमारी बुढामगरले सहिदको योगदान र बलिदानले आज परिवर्तन सम्भव भएको बताए ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका निवर्तमान प्रमुख राजबहादुर बुढामगरको विशिष्ट आतिथ्य रहेको थियो भने परिवर्तन गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढामगर, परिवर्तन गाउँपालिकाका निवर्तमान उपाध्यक्ष हितकुमारी बुढामगर, परिवर्तन गाउँपालिका-१ का वडा अध्यक्ष मैते बुढामगर, २ का वडा अध्यक्ष हरिप्रसाद बुढा मगर, ४ का वडा अध्यक्ष मानसिङ बुढा, ५ का वडा अध्यक्ष दिलबहादुर वली, नेपाली कांग्रेस परिवर्तन गाउँपालिका उपसभापति कुलवीर घर्तीमगर, नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिका उपाध्यक्ष देवबहादुर बुढामगर, जेष्ठ नागरिक समन्वय समिति परिवर्तन गाउँपालिका उपाध्यक्ष दलबहादुर बुढामगर, नेपाल रेडक्रस सोसाइटी उपशाखा बागमाराका निवर्तमान सभापति प्रवेशप्रसाद बुढामगर, उद्योग वाणिज्य संघ परिवर्तन गाउँपालिका संयोजक प्रेमकुमार बुढामगर, जलजला बहुमुखी क्याम्पसका प्राध्यापक श्यामबहादुर बुढामगर र नेपाल राष्ट्रिय नमूना मावि मौलाबोटका विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणबहादुर बुढामगरलगायतको आतिथ्यता रहेको थियो ।

सम्मान कार्यक्रममा परिवर्तन गाउँपालिकाभित्र रहेका परिवर्तन गाउँपालिका-१ कुरेलीबाट ४८ जना, परिवर्तन गाउँपालिका-२ राङ्सीबाट २६ जना, परिवर्तन गाउँपालिका-३ इरिबाङबाट ३० जना, परिवर्तन गाउँपालिका-४ पाछाबाङबाट ३१ जना, परिवर्तन गाउँपालिका-५ राङ्कोटबाट ६२ जना र परिवर्तन गाउँपालिका-६ इरिबाङबाट ९ जना गरी जम्मा २ सय ६ जना साहित्यिक स्रष्टाहरूलाई मायाको चिनो, दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

कवि एवम् गजलकार दिलिप बुढामगरले सञ्चालन गरेको उक्त कार्यक्रमलाई गजलकार एम. पी. सरोवरले स्वागत मन्तव्य राखेका थिए भने रोल्पा कला साहित्य प्रतिष्ठानका अध्यक्ष जिवनप्रेवेश रोकामगरले विधिवत रुपमा समापन गेरेका थिए ।