२०२५ जुन १७ – नेपाली मौलिक संस्कृति, परम्परा र पहिचानलाई अन्तर्राष्ट्रिय जगतमा प्रवर्द्धन गर्ने उद्देश्यले टेक्सास राज्यको अस्टिन शहरमा ‘भूमे पर्व (बल पूजा) – २०२५’ भव्य रूपमा मनाइएको छ । टेक्सास भूमे आयोजन समिति, संयुक्त राज्य अमेरिकाले यस कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमको अध्यक्षता भुवन बुढा मगरले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा टेक्सास च्याप्टर अध्यक्ष भिम थापा मगर रहनुभएको थियो ।
कार्यक्रममा लक्षिण पुनले सञ्चालन गर्नुभएको थियो भने स्वागत मन्तव्य रेमन थापा मगरले राख्नुभएको थियो ।
८० वर्षीय नन्दसिङ बुढाबाट बलपूजा सुरु गरिएको थियो । कार्यक्रममा सामूहिक बलपूजा, मन्तव्यका साथै विविध सांस्कृतिक प्रस्तुति देखाइएका थिए ।
यस कार्यक्रमले अमेरिका बसोबास गर्ने नेपाली मगर समुदायबीच आत्मीयता बढाउनुका साथै भाषा, कला, संस्कृति र परम्पराको संरक्षणमा सकारात्मक सन्देश दिएको आयोजक समितिले जनाएको छ । कार्यक्रम सफलताका साथ सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई आयोजक समितिले धन्यवाद व्यक्त गरेको छ ।
नेपालबाट रोजगारको सिलसिलामा यहाँ आएका मगर समुदायले पछिल्लो समय ‘भूमे पर्व (बल पूजा)’ भव्यताका साथ मनाउँदै आएका छन् । अमेरिकाका विभिन्न सहरमा बसोबास गर्ने मगर समुदायले यस वर्ष पनि विभिन्न कार्यक्रमहरू गरी मनाउँदैछन् ।
अमेरिकामै रहनुभएका दीपसागर बुढामगरका अनुसार गेमी तकसेरा समाज अमेरिकाले जुन १६ मा न्यू-योर्कमा ‘भूमे (बलपूजा) पर्व २०२५’ मनाएको छ भने जुन १६ मै भूमे पर्व (बल पूजा) आयोजक समिति अमेरिकाले न्यू-योर्कमै ‘भूमे पर्व (बलपूजा) २०२५’ कार्यक्रम सम्पन्न गरेको छ ।






