गेथाती

भूमे नाच्न आउनू भेना

लक्ष्मी अर्गेजा मगर
४ असार २०८२, बुधबार

भेना !
भूमे नाच्न आऊ ल…

चढाएर पित्रीलाई रक्सी
तिमीले पनि प्रसाद चाखेपछि
रक्सीले मात्तिएझैँ गरी
इत्रिनु अलिकति तिमी
लजाउँला अलिकति म ।

तिमी गलबन्दीमा लुकाएर
मलाई पोलेको मासु (बिबिक्यू) राखिदेऊ ल
म थुन्सेमा बोकेर ल्याएको
सगुन बाडौँला पाहुनाहरूलाई ।

सिउरिएर बुकीफूल
नाचौँला २२ चाला नाच
पुजेर प्रकृति
खोजौँला मौलिकतामा माया
बेरिएर एउटै पछ्यौरीमा
गाइदिउँला पिरतिको भाका
अनि
समाएर एक अर्काको हात
भागौँला नौडाँडा काटेर….।

साँच्चै भेना !
भूमे नाच्न आऊ ल…
०००
बागलुङ (हालः जापान)