मुक्तक-एक
अघि पछि दायाँबायाँ एउटै हुँदो रै’छ
एउटै सूर्य, अनि छाया एउटै हुँदो रै’छ
उमेर हुँदा जो देखे त्यही राम्री लाग्थ्यो,
आखिरमा चोखो माया एउटै हुँदो रै’छ ।

मुक्तक-दुई
म आफ्नै सोच र विचारको मारमा पर्दा
उसैले सम्हालेकी थिई मलाई दोधारमा पर्दा
म जे छु उसैको देन हो तर उसको हुन सकिनँ,
खोटो परेको भाग्य मेरै निधारमा पर्दा ।

मुक्तक-तीन
तिमीले बिर्से पनि तिमीलाई चिन्छु जीवनभर
तिम्रै माया अनि चिन्ता लिन्छु जीवनभर
तिमी आउनु नआउनु तिमीमा भर पर्छ प्रिय,
तर मैले तिमीलाई पर्खिन्छु जीवनभर ।

मुक्तक-चार
गर्दा रै’छन् कुरा थरीथरी, नसकिने रै’छ
गुण लगाएकै कुरा घरीघरी, नसकिने रै’छ
मनमा राख्छु चोखो माया गर्छु भन्नेले नि,
जानीजानी गरेपछि मनपरी नसकिने रै’छ ।

मुक्तक-पाँच
मेरा दुःखमा अघि सर्ने तिमी मात्रै पाएँ
वचन निभाउनै पछिपर्ने तिमी मात्रै पाएँ
जसले जति बोले पनि मायावी दुनियाँमा,
आमा, नबोलेरै माया गर्ने तिमी मात्रै पाएँ ।
०००
भूमे-८¸ रुकुमपूर्व
