गेथाती

लघुकथा : मामाकी छोरी


१५ फाल्गुन २०८०, मंगलवार

“भरै मिलन पार्टी प्लेसमा आओ ल ?”
“किन यार ?” क्षितिजले सोध्यो ।
“तिमीहरूको यार बेहुला बन्दैछु ।” मिगिनले लजालु पाराले भन्यो ।
“ओ ! बधाई यार ।”
“धन्यवाद ।”
“के हो सुइँको नदिनै श्रीमान्‌को कुर्सीमा बस्ने भइसकेको ?” सुविनले कान समायो ।
“आयायाया ! छोड् दुख्यो । केटी अष्ट्रेलियाबाट हिजै आइपुगेकी हुनाले ।”
“के हो हामीले त खिउटीसँग लभ चल्या छ भन्ने सोचेको ।” निडमले छड्के हान्यो ।
“थ्यत् ! खिउटी त बेस्टफ्रेन्ड मात्रै होक्या ।”

पार्टी प्लेसमा –
नवीन बेहुला बेहुलीलाई टीका लगाइदिँदै उपहार प्रदान गर्दै थिए ।
सबैको आँखा आइरहेका एकहुल युवाहरूतिर तेर्सिए ।
“बेहुलाका साथीहरू ।” एकजना अधवैँसे बोले ।

बेहुलाको निधारभरि टीका दल्देर सबैले समातेर ठूलो कोक्रो दिँदै भनेँ, “छिट्टै डेडी बन्ने शुभकामना ।”
हाँस्दै सबैले ताली बजाए ।

फर्किने बेला साथीहरूले बेहुलालाई सोधे, “हन ससुरालीको पर्नुभयो ?”
“आफ्नै जेठामामा ।”
“अरे ! मामाकी छोरी त बहिनी पर्छिन् त ।” रूपकले अचम्म दर्सायो ।
मिगिनले सगर्व भन्यो, “मामाकी छोरी साली पर्छ । मामाकी छोरीलाई छोडेर अरू बिहे गर्‍यौँभने जरिवानास्वरूप एक कठुवा रक्सी राखेर मामालाई शिर उभ्याउनुपर्छ । त्यो हाम्रो मगरको संस्कार हो ।”
०००
त्रियुगा-११ हिमालीटोल, उदयपुर

TAGS: कथा नेपाली कथा बालकथा