गेथाती

प्रकृति पुजकहरूले बाह्रभदौ किन र कसरी मान्छन् ?

अठार मगरात क्षेत्रका मगरलगायत गैरमगर समुदायले विशेषगरी चन्द्रमास र सौर्यमासको आधारमा चाडपर्वहरू मान्ने गर्दछन् । चन्द्रमासमा चैते अस्तमी, बैसाखे पूर्णिमा, जेठ पूर्णिमा, रिखीतर पूर्णिमा, दवारा (कात्तिके औँसी) र मंसिरे पूर्णिमा इत्यादि मान्ने गर्दछन् भने सौर्यमासको आधारमा माघ सकराति (नयाँ वर्ष, उधेलीको बिदाइसँगै उभेलीको स्वागत र चेलीबेटी पुज्ने पर्व साथै गाजाबाजा बन्द गर्ने समय), जेठ सकराति (माघ सकरातिमा बन्द गरिएका गाजाबाजा फुकाउने), असार सकराति (जमिन पुज्ने), साउन/तिवार सकराति (आगो पुज्ने र लुतो फाल्ने), भदौ/घिवाँ/घ्युवाँरे सकराति (घ्यू खाने) र बाह्रभदौ इत्यादि हुन् ।

यिनै पर्वहरूमध्ये बाह्रभदौलाई पनि मुख्य पर्वको रूपमा नै मान्ने गरिन्छ । बाह्रभदौ मान्ने मुख्य कारणहरू निम्नलिखित छन्–

१. अङ्सपुरुस खेर्ने

वर्षभरिमा लेकबेँसी गर्ने र देशप्रदेश घुम्ने भएकोले आफूसँग नरही आत्मा वा सातोहरू त्यही ठाउँ ठाउँमा डुल्दै हराउने र आइतापाइता (मर्नका लागि सुरसार) सार्दै गरेको आत्माहरूलाई जम्मा गर्दै, मान्छेका अङ्सपुरुस पुरुस हुन्छन्; ती सबै मरेपछि मात्रै मान्छे मरिन्छ; बाईस अङ्सपुरुसहरूमध्ये मरेका अङ्सपुरुसहरूलाई पुनः जीवित बनाउँदै अङ्सपुरुसहरू खेर्ने गरिन्छ । साथै ग्रहदशा शान्त गर्ने कार्य पनि गर्ने गरिन्छ । यो कार्य ठाउँअनुसार फरक–फरक रूपले मान्ने र गर्ने गरिन्छ । धेरैजसो ठाउँमा परिवारका प्रत्येक सदस्यले वर्ष नाघेका एक–एक ओटा जिनो भालेको रगत सेवन गरेर अङ्सपुरुस खेर्ने गर्दछन् ।

रम्मा (झाँक्री), धामी, बैदाङ्गी/जैसिउ (नकाम्ने तर झाँक्री र धामीले गर्ने सबै काम गर्ने अनि दिन लगनलगायत साइतहरू जुराउने व्यक्ति अथवा मगर समुदायको पण्डित) र मुथुङ (साधारण व्यक्ति जसले कुनै तन्तरमन्तर गर्दैन) हरूले पनि यो पर्व भव्यसाथ मनाउँछन् ।

२. तन्तरमन्तर जाँच्ने

रम्मा, धामी र बैदाङ्गीहरूले गर्ने गरेका तन्तरमन्तरहरू ठिक छ/छैन भनेर जाँच्ने गर्दछन् । बाह्रभदौको दिन रम्माहरूको छेर्ला (झालामाला), धामीहरूको घण्ट पन्यु र बैदाङ्गीहरूको थाती (मन्तर भएको नेपाली कागजमा निगालोले मसीमा चोबेर लेखिएको र जीवजन्तुहरूको छालाले गाता हालेको पुस्तक)लाई धुपधुवाँर गरी पुजेर जाँच गरेमा नलाग्ने तन्तरमन्तरहरू पनि लाग्ने विश्वासले यो कार्य गर्ने गर्दछन् । साथै गाउँमा सामुहिक झाँक्री बसेर गाउँ घर र गाउँलेहरूको ग्रहदशा फार्ने साथै गौना फाल्ने गरेर झाँक्री राम पनि बनाउने गर्दछन् ।

३. जडीबुटी खेर्ने

रम्मा, धामी र बैदाङ्गीहरूले तन्तरमन्तर मात्र गर्दैनन् । उनीहरूले जडीबुटीले बिरामीहरूको उपचार गर्छन् । विशेषगरी बैदाङ्गीहरू त यस क्षेत्रका वैद्यहरूभन्दा पनि फरक नपर्ला किनकि उनीहरूले तन्तरमन्तरले मात्र नभएर जडीबुटीद्वारा पनि बिरामीहरूलाई निको पार्ने गर्दछन् ।

बाह्र भदौका दिन खागर (हिमाल), मधेश (तराई) र चारैदिशाबाट जडीबुटी खेर्ने गर्दछन् । नजिक हुने जडीबुटी आफै गएर खन्ने र टाढा टाढा भएका जडीबुटीहरू गुराहा (बाघ वा सिँह) बनेर जाने र खन्ने गर्थे भन्ने भनाईहरू अझैसम्म पनि सुन्नमा आउँछन् । भने नसक्नेले पुरानै जडीबुटीहरूलाई उपासेरै धुप धुवार गरी पुजेर राख्ने गर्दछन् ।

जसरी नलाग्ने तन्तर मन्तर बाह्रभदौको दिन जाँचे लाग्छ । त्यसरी नै त्यसैदिन केही दिन अघिदेखि उपासेर (खाना नुन पानि नखाएर) जडीबुटीको जरामा गई चारैदिशा धजा अछेता राखी धुपधुवाँरेर जिनो भालेको रगत दिई पुजेर खनेको जडीबुटी असाधै लाग्ने गर्दछ विश्वासले यो कार्य गर्ने गर्दछन् ।

४. टिमुर टिप्न

यो काम मुथुङहरूको काम हो । बाह्रभदौभन्दा अगाडि टिमुर टिप्नु हुँदैन । री (मैलो/जोखना) लाग्दैन् र यता उता हिँड्डा पानी लाग्छ भन्ने कुराहरू पनि सुन्नमा आउँछन् । यसैदिनमा टिपेको टिमुर दसेरा वा दसनमा खरखजनासँगै पुजेमा बिना तन्तरमन्तर दुःख बिमार हुँदा खाएमा निको भइन्छ भन्ने परम्परागत विश्वास पनि छ । र यसै दिनदेखि नै टिमुर टिप्न फुकुवा हुन्छ पनि ।

५. बाबियो काट्ने

बाह्रभदौका दिन काटेको बाबियोको कुचोले झारफुक गर्दा लाग्ने र अरु दिनमा काटेको बाबियोको कुचोभन्दा यसै दिन काटेको बाबियोको कुचो खप्ने हुन्छ भन्ने जनविश्वासले यस दिन जसरी भए पनि बाबियो काट्ने गर्दछन् । 

बाह्रभदौका दिन हुने अन्य जनश्रुति र मान्यताहरू

बाह्रभदौका दिन माछाहरू जिङ (लेकाली चोँया)को जरा खान आफूहरू बस्ने नदीको मुहान लेकसम्म पुगेर फर्कने अनि लेक चढेका र पाखा निस्केका पाहा र भ्यागुताहरू बाह्रभदौकै दिनदेखि बेँसी वा तलतिरको नदीनालाहरूमा झर्ने वा बग्ने गर्दछन् भन्ने विश्वास पनि छ । त्यसैले माछा र पाहाहरूलाई पासोमा पार्न ढडिया र तुम (ढडियाजस्तै चोयालाई बनाएको पासो) थाप्न बाह्रभदौकै दिनदेखि सुरु गर्ने गर्दछन् । यसैगरी यसै दिनलाई उधेली मास सुरु भएर फागुन ११ गतेमा अन्त्य हुने र फागुन १२ देखि कुर बसेका माछाहरू फुट्ने र खोलाको बहावको उल्टो अर्थात् उभोतिर चढ्ने भएकोले टिप (सिङ्गै चोयालाई बुनेर बनाएको ठूलो आकारको तुम) थाप्ने सुरु गरिन्छ । जलचर शिकारको लागि सुरुवाती दिन पनि हो । त्यही दिनबाट भदौ ११ गतेसम्म उभेली मास सुरुवात् भएको पनि मान्ने गरिन्छ ।

यिनै कुराहरूको कारणले एक वर्षमा बाह्रभदौ भव्यसाथ मान्ने गरिन्छ । यो अठार मगरात क्षेत्रको समुदाय र जनजीवनले भोग्दैआएको रहनसहन र संस्कार हो । यस संस्कारले इतिहास र संस्कृतिलाई त्यहाँको जनजीवनयापनसँगै परम्परागत रूपमै भए पनि जिवित पार्दै आइरहेको छ । यो एउटा जिवित इतिहास पनि हो । अठार मगरात क्षेत्रभित्र कतै यो पर्व नमान्लान् पनि तर झाँक्री प्रथालाई विश्वास गर्ने अन्य समुदायमा यो चलन भने अवश्य नै छ । अन्य क्षेत्र र समुदायको अध्ययन गर्न पाएको छैन । सायद लाग्छ यो परम्परागत संस्कार अन्य क्षेत्र र समुदायमा हुन र मान्न पनि सक्दछन् ।

यो लेख अलिकति भए पनि अरूलाई जानकार होस् भनेर तयार पारिएको हो । यसको पूरै अध्ययन गर्न बाँकी नै छ । त्यसले तपाईँहरूलाई लागेको कुरा र तपाईँहरूको समुदायमा भएको बाह्रभदौ विशेष कुराहरू मलाई जानकारी गरेर सहयोग गर्नुहोला भन्दै यो छोटो जानकारी लेखलाई यही टुङ्ग्याउन चाहन्छु । धन्यवाद !

बाह्रभदौ (अङ्सपुरुस खेर्ने पर्व) मान्ने सबै र आफ्नो संस्कार बिर्सेर अरुको संस्कार रमाउने जतिलाई पनि अङ्सपुरुस खेर्ने दिनको शुभकामना !

०००