ओ ! साइला दाइ
किन बारम्बार एउटै सूचना आइरहन्छ
यो मान्छेहरूको साम्राज्यबाट ?
कुन सिमान्तकृतको छातीमा पैतला राखेर
कसको कठालो समात्न तम्सिएको छ
एकाबिहानै यो राज्य ?
च्यातेर थुम्काहरूको मुटु
रेटेर खोलाहरूको घाँटी
भत्काएर पितृहरूको छानो, उखेलेर चौतारीको पिपल
पहाडको मुटु छिचोल्दै, तराईको छाती कोतर्दै
किन बिछ्याउँछ सरकार
आरक्षणको मखमली बाटो ?
एउटा कार्यालयमा
मान्छेको उचाइ नापेर विज्ञापन खोलिएको छ
उसले अब रङ छुट्याउँछ, वर्ग छुट्याउँछ
देख्दैन- दर्दले पिल्सिएको अभागी थाप्लो
देख्दैन- कर्णाली बगेर मन चिरेका खाल्टाखुल्टी
चाहिँदैन उसलाई- वर्गीय भारीले थिचेको होचो कद
चाहिँदैन उसलाई- दुःखको नदि बग्ने चिम्सा आँखा
उसलाई त चाहिएको छ
पुँजीवादले मौलाएको कलकलाउँदो जवानी
चाहिएको छ भित्तामा टाँगिएका पुर्खाको साँठगाँठ
र मज्जाले आपूर्ति गरिरहेछ
मालिकहरूले चाहेको दक्ष जनशक्ति ।
उसले माग्छ
छातीमा रोजगारको सूचना टाँसेर
अनुभवका कागजपत्रहरू
मेरा दुब्लिँदै गरेका आँखाहरूले
कुनै कार्यालयको ढोकासम्म देख्न पाएका छैनन् ।
यसले सबथोक दिन्छ भन्ने भ्रम पालेकाहरू
आफ्नै पुर्खाका इतिहास मेटाएर
खुब बहादुरी सातिरहेछन्
सङ्घीयताको बजारभित्र ।
लाग्छ-
पहिचानको बिछौनीमा
गाउँको सिरानी राखेर, निदाइरहेछ पुँजीवाद
साम्यवादको सपना देखेर
बरबराइरहेछ समाजवादी व्यवस्था ।
जब देख्छ हाकिमले चेप्टो अनुहारमा
फुल्दै गरेको सुन्दर आदिवासी
तब ! झुन्ड्याइदिन्छ अयोग्यको जन्तरघाँटीमा
छेक्छ ढोकाभन्दा बाहिरै पट्टि
र घोषणा गर्छ असफल उमेदवार ।
हाकिम साब !
मलाई त आउँदैन जात फेरेर
तिम्रो बन्द कोठामा हुर्किन
बरु मलाई भूँइफूल भन
गमलाबाट निकालेर एक सीमान्तकृत बनाऊ
रम्न देऊ पाखापखेरुमा, हाँस्न देऊ गुराँससँग
मलाई त्यसमै मजा छ मलाई त्यसमै खुसी छ ।
चाहिँदैन मलाई
सुविधासम्पन्न गाडीमा सयल गरेर
गरिबहरूको पेटमा बुट बजार्ने बाटोको नक्सा
आदिमकालदेखि कोरिरहेछु
अक्करे भिरहरूमा जीवन हँसाउने गोरेटो ।
म एक आदिवासी एक जनजाति
एक सीमान्तकृत एक भूमिपुत्र
बजुबराह, सिमेभूमे, कुलपित्री
साँचिराखी पिदार गर्छु
आफ्नै देशको आफ्नै भेषको ।
एक दिन जतनले उठाउँछु
लिपिएको नाक र होचो काधले
यो देशको भारी
र तिम्रै कार्यालयमा पुगी भन्छु
यही काँध टेकेर अग्लिएकाहरूलाई
हामी पनि साइला दाई ! तिमीजस्तै बलिया छौँ !
०००
रोल्पा
नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाले आयोजना गरेको ‘विश्वव्यापी खुल्ला कविता प्रतियोगिता २०२४-२०२५’ मा कवि कमलको यो कविता द्वितीय हुन सफल भएको थियो ।
