कमल फूल !
फूल कमल !
या पुष्प कमल
उत्तरगङ्गा माडीका तीरमा फुल्दैन
जलजला या पुथाका शीरमा फुल्दैन
न त छापामार अखडा
गोलखाडामा फुल्छ,
न त बलिदानीको चाङ
थबाङमा फुल्छ
कमल फूल
यानिकी फूल कमल
पानी जमेको पोखरीमा फुल्छ रे
कमल फूल
यानिकी पुष्पकमल
पानी तालिएको ताल तलयामा फुल्छ रे
सारमा कमल फूल
कमल तालमै फुल्छ ।
राता गुँरास फुल्ने
सेता चमेला फुल्ने
रथविरथ नारा सघुन फुल्ने
पुथा, जलजला, सिस्नेतिर
अब-कमल फूल फुल्छ भनी
आउन त आए फूल कमलहरू
कहिले श्री ५ कमल फूल भएर
कहिले श्री ३ कमल फूल भएर
कहिले सिर्फ ५ कमल फूल भएर
कहिले ४७
कहिले ५२
जो जे नाममा आए पनि
जो जे सालमा आए पनि
बलिदानी त
रैथाने फूलहरुकै भयो,
हल्लैहल्लाको डढेलोमा सल्किएका
पाखा पखेरी खोरीयामा
न रैथाने गुराँस फुले
न त विकासी फूलकमलहरू फुले
बरु मौका पाए बनमाराका झ्याङ्हरु
फूलकमलहरू–
यामखारका भीरमा– चर्नु पर्दैन
माडी, उत्तरगङ्गाको तीरमा– तर्नु पर्दैन
पुथा, जलजलाको आडमा– लक्नु पर्दैन
सिस्नो, आटो, ढिडोमा– निल्नु पर्दैन
अब फूलकमललाई
लाबाङ, चुनबाङलाई
भाइचाराको भावनाले चुम्नु पर्दैन
मैकोट, थबाङलाई
परिवर्तनको झिल्को भनी– झोस्नु पर्दैन
फूलकमलहरू
रातो हुन कि सेता हुन्
कमलतालतिरै फुल्छन्
चम्चाहरू
कमली अचारका
अम्ली विचार खोक्लान्
तर
अब रैथाने राता सेता गुराँस
रथिवरथ, विञ्जुरी फुल्नुपर्छ
किनकि
फूलकमलहरू
सदा कमलतालतिरै फुल्छन् ।
०००
