न्यूयोर्क, नोभेम्बर ५। अमेरिकाको न्यूयोर्क सहरमा गेमी तकसेरा समाज अमेरिकाको आयोजनामा भएको ऐतिहासिक भेटघात तथा अन्तरक्रिया कार्यक्रममा रुकुम पूर्वको तकसेरा क्षेत्रबाट अमेरिकामा बसोबास गर्ने प्रवासीहरूले सांसद कुसुम देवी थापा मगरसंग आफ्नो गाउँको विकासका लागि सीधा संवाद गरेका छन्।

न्यूयोर्क स्थित नेपाली भान्छा घर रेस्टुरेन्टमा नोभेम्बर ४ का दिन सम्पन्न कार्यक्रममा अमेरिकाका विभिन्न राज्यहरूबाट तकसेरा प्रवासीहरू एकठाउँ भएका थिए। कार्यक्रमका प्रमुख अतिथि निवर्तमान कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुम देवी थापा मगरले प्रवासीहरूका सुझावहरूलाई गम्भीरतापूर्वक सुनिन् र ती आफ्ना कार्ययोजनामा समेट्ने प्रतिबद्धता जनाइन्।

कार्यक्रममा तकसेराको विकासका लागि धेरै महत्वपूर्ण विषयहरूमा गहिरो अन्तरक्रिया साथै गाउँको पूर्वाधार विकास, स्वास्थ्य, सञ्चार,शिक्षा, कृषि, पर्यटन, ऊर्जा र सहकारी सुदृढीकरण सम्बन्धी विषयमा गहिरो र दूरदर्शी छलफल भएको थियो।प्रवासीहरूले तक र सेरा जोड्ने पक्की मोटरपुल निर्माण, तल्लो सेराको अस्पताल परियोजना, बेलीब्रिज विस्तार, विद्युत उत्पादन, चौरीखर्क पर्यटन विकास, कृषि सडक विस्तार, एयरपोर्टको सम्भावनाको अध्ययन लगायतका विषयहरूमा आफ्ना सुझावहरू राखे।
विशेष गरी बुखीपाटन तकसेरा हुँदै दोरपाटन जोड्ने सडक विस्तार, शहीद मार्ग कालोपत्रे कार्य, र स्थानीय व्यवसाय प्रवर्द्धन जस्ता दीर्घकालीन योजनाहरूमा सांसद थापाको सक्रिय भूमिकाको अपेक्षा गरिएको छ।

सहभागीहरूले रुकुम पूर्वको भौगोलिक चुनौती, क्षेत्रमा नेतृत्वको कमी, र सदरमुकाम स्थायित्वको अन्योल जस्ता विषयहरूमा पनि गम्भीर चिन्ता व्यक्त गरे। उनीहरूले विदेशमा रहेका तकसेरावासीहरूले गाउँमा लगानी गर्न चाहे तापनि प्रक्रियागत जटिलता र लगानी वातावरणको अभावले यो सम्भव नभएको बताए।
यस अवसरमा सांसद थापा मगरले भनिन्, “तकसेरा केवल एउटा गाउँ होइन, सम्भावनाको स्रोत हो। प्रवासीहरूको भावना, माया र सुझावहरूलाई म मेरो कार्ययोजनामा प्रतिबिम्बित गर्न प्रतिबद्ध छु। यी सबै योजनाहरूले गाउँको भविष्यलाई मात्र होइन, तकसेरा बासीहरूको पहिचान र आत्मविश्वासलाई पनि नयाँ ऊर्जा दिने छ।”
उहाँको सरल स्वभाव, व्यावहारिक सोच र दूरदर्शी दृष्टिकोणले कार्यक्रममा उपस्थित सबैको मन जितेको थियो।

गेमी तकसेरा समाज अमेरिकाका अध्यक्ष मधुकर बुढा मगरले धन्यवाद ज्ञापन गर्दै भने, “यो अन्तरक्रिया केवल भेटघाट मात्र होइन, यो हाम्रो गाउँ, समाज र पहिचानप्रतिको माया र जिम्मेवारी पुनः पुष्टि गर्ने अवसर हो।”
यस ऐतिहासिक भेटघाटले प्रवासी तकसेरावासीहरूमा नयाँ ऊर्जा, आशा र प्रतिबद्धताको भावना जगाएको छ। कार्यक्रमभरि “विदेशमा भए पनि हाम्रो मन तकसेराको माटोमा” भन्ने साझा सन्देश स्पष्ट रूपमा देखिएको थियो। यसले गाउँ र विदेशबासीबीचको सम्बन्धलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।


