नेपाली भाषा र मगर खाम भाषाबाट सशक्त रुपमा कलम चलाउँदै आएका कवि एवम् गजलकार डी.बी. मगर “स्वेद” को नयाँ गजल संग्रह “सफर” रोल्पाको थबाङमा लोकार्पण भएको छ ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान काठमाण्डौको आयोजना, रोल्पा कला साहित्य प्रतिष्ठानको सह-आयोजनामा र थबाङ गाउँपालिको मुख्य प्रायोजन तथा रोल्पा नगरपालिका लगायत रोल्पाका सम्पूर्ण गाउँपालिकाहरूको सहयोगमा यही बैशाख १९ र २० गते रोल्पाको ऐतिहासिक गाउँ थबाङमा भएको (प्रगतिशील संगीत उत्सव २०८३) को भव्य समारोहका बीच लोकार्पण गरिएको हो ।
गजल संग्रह लोकार्पण पछि गजलकार डी.बी. मगर “स्वेद” को व्यक्तित्व र उनको कृति सफर माथि साहित्यकार एवम् पत्रकार मौसम रोकाले आफ्ना गहकिला भनाइहरू राख्नु भएको थियो ।
यस् भन्दा अघि कवि एवम् गजलकार स्वेदका – एक यात्रा अनेक मोड (गजल २०६८) अङ्कुराए पल्लवी (संयुक्त गजल २०६९) हिमालको ओतमुनी (गजल २०७०) जर्मिसिउ पो (मगर खाम गजल २०७२) दोन्थरा (मगर खाम महाकाव्य २०७९) गरी ५ वटा कृतिहरू पाठक सामु ल्याइसकेका छन् भने निकट समयमै मगर खाम भाषाबाट (सङ्गाति) नामक कविता संग्रह प्रकाशन गर्ने तयारीमा छन् ।
बुवा मन बहादुर बुढा मगर र आमा कमला बुढा मगरको कोखमा २०५० सालमा थबाङ गाउँपालिका – ३ मिरुलमा जन्मिएका स्वेद हाल परिवर्तन गाउँपालिकामा बस्दै आएका छन् भने उनी शिक्षण पेशामा पनि संग्लग्न रहेका छन् ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा “प्रगति” को सभाअध्यतामा भएको उक्त कार्यक्रमलाई रोल्पा कला साहित्य प्रतिष्ठानका अध्यक्ष जिवन प्रवेश रोका मगर “हिमाल” ले सञ्चालन गरेका थिए । कार्यक्रमको सुरुवातमा यही बैशाख १७ गते जलजला क्षेत्रको जीप दुर्घटनामा परि पुर्वी रुकुम र दाङका २० जना दिवंगत हुनेहरू प्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेस सभामुख तुलाराम घर्ती रहनुभएको थियो भने कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्य, नगर प्रमुख सुरेन्द्र थापा घर्ती, थबाङ गाउँपालिका अध्यक्ष रिषिकेसब बुढा, परिवर्तन गाउँपालिका अध्यक्ष सुकबहादुर बुढा, प्रगतिशील गायक जीवन शर्मा, प्राज्ञहरु, पालिकाका उपप्रमुखहरु, विभिन्न सराेकारवालाहरु, सुरक्षाकर्मी, साहित्यकारहरू, पत्रकारहरू लगायतको उपस्थिति रहेकाे थियो । कार्यक्रममा पत्रकारका तर्फबाट नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष मानसिंह विक, सम्पुर्ण लेखकहरुका तर्फबाट प्रगतिशील लेखक संघका अध्यक्ष श्याम कुमार बुढामगर, प्रगतिशील संगीतकर्मी नारायण शर्मा, प्रगतिशील संगीतकर्मी वीर प्रसाद भन्सारी, आराेह नेपाली, हेमराज आश्रम, उदय श्रेष्ठ, जिवन शर्मा, स्थानीय तहकाे प्रतिनिधित्व गर्दै परिवर्तन गाउँपालिका अध्यक्ष सुकबहादुर बुढा थमन, राेल्पा नगर प्रमुख सुरेन्द्र थापा घर्ती, जिल्ला समन्वय प्रमुख सीता आचार्य, प्रमुख अतिथि तुलाराम घर्ती लगायतले शुभकामना तथा शाेक मनतब्य दिनुभएको थियो ।
प्रगतिशील संगीत उत्सव कार्यक्रममा जनसाँकृतिक महासंघ नेपालका अध्यक्ष भिम कुमाखीले प्रगतिशील गीत संगीतको बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने रोल्पा कला साहित्य प्रतिष्ठानका अध्यक्ष जिवन प्रवेश रोका मगरले रोल्पाको प्रगतिशील गीत संगीत र साहित्य बारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । दुबैजनाको कार्यपत्र प्रस्तुतपछि कार्यपत्रको बारेमा प्रगतिशील लेखक र कलाकारहरू बीच वृहत् छलफल चलाइएको थियो ।
प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि भनेर २ दिनसम्म चलेको उक्त कार्यक्रममा ख्याति प्राप्त दर्जनौं जनवादी गायक गायिकाहरूले प्रगतिशील गीत संगीत मार्फत कार्यक्रमलाई उत्सवमय बनाएका थिए भने त्याहाँका स्थानीयहरूले आफ्नो संस्कार, सँस्कृतिहरू झल्किने खालका मौलिक झाँकीहरू प्रस्तुत गरेका थिए ।


