गेथाती

कृष्ण सेन ‘इच्छुक’को “जेल”

कृष्ण सेन ‘इच्छुक’
१३ जेष्ठ २०८३, बुधबार

म पर्खालभित्र छु
तिमी पर्खालबाहिर छौ
म पहराभित्र छु, तिमी पहराबाहिर छौ
म यातना–गृहमा छु
तिमी खुला शिविरमा छौ
सिकारीले बाँधेको छाँद होस्
अथवा त्यो उसको फाँद होस्
के फरक पर्‍यो र ?
मित्र, अर्काको मुट्ठीभित्र पराधीन जिन्दगी
जहाँ काटनुपरे पनि त्यो जेल हुन्छ ।

जहाँ जीवन बन्धनहरूभित्र कैद हुन्छ
जहाँ सुन्दर सपना सधैँ अवैध हुन्छ
जहाँ मुक्त आकाङ्‍क्षाहरू बन्देज हुन्छन्
जहाँ हार्दिक भावहरूमा ठेस लाग्छ
अनि जहाँ बासी हावा बहने दुर्गन्धमा पनि
निर्धक्क सास फेर्न प्रतिबन्ध हुन्छ
बन्दुकको पहरा होस्
अथवा त्यो कानुनको घेरा होस्
के फरक पर्‍यो र ?
मित्र, भयभीत परिवेशमा त्रसित जिन्दगी
जहाँ बाँच्नुपरे पनि त्यो जेल हुन्छ ।

जहाँ बेला–कुबेला रमन घुमिरहन्छ
जहाँ कारण–अकारण साइरन बजिरहन्छ
सडकमाथि बेलगाम घोडाको टापजस्तै
जहाँ चर्को आवाज गरी मार्च–पास चलिरहन्छ
अनि जहाँ मौसम बेमौसम बारुदहरू गर्जेर
सधैँ रगतको झरी परिरहन्छ
पर्खालभित्र होस्
अथवा त्यो पर्खालबाहिर होस्
के फरक पर्‍यो र ?
मित्र, सधैँ छातीमा चाँदमारी थापेको जिन्दगी
जहाँ गुजार्नुपरे पनि त्यो जेल हुन्छ ।

उही दिन सधैँ, उही रात सधैँ
उही बिहान र साँझ साथ छ
उही स्वप्नभङ्ग विवश जिन्दगी
उही गतिहीन समय साल छ
निकासबिनाको बन्द तालजस्तै
जहाँ गन्दा समाजसाथ अँधेरो बास छ
कुनै अनाम देश होस्
अथवा त्यो प्रिय स्वदेश होस्
के फरक पर्‍यो र ?
मित्र, उत्पीडित समाजमा पददलित जिन्दगी
जहाँ बिताउनुपरे पनि त्यो जेल हुन्छ ।

०००

कृष्ण सेन इच्छुक नेपालका चर्चित पत्रकार, कवि, साहित्यकार तथा राजनीतिक चेतनासँग जोडिएका व्यक्तित्व हुनुहुन्थ्यो। उहाँको जन्म वि.सं. २०१३ साल कार्तिक ३ गते भारतको देहरादुनमा भएको थियो। उहाँको पुर्ख्यौली घर प्युठान जिल्लामा भए पनि परिवार पछि अर्घाखाँचीतिर बसाइँ सरेको बताइन्छ। वि.सं. २०५९ साल जेठ १३ गते उहाँको हत्या भएको थियो। त्यसपछि उहाँलाई “शहीद पत्रकार” का रूपमा पनि सम्मान गरिन्छ। नेपालमा हरेक वर्ष उहाँको स्मृतिमा विभिन्न साहित्यिक तथा पत्रकारिता कार्यक्रम आयोजना गरिन्छ । उहाँको स्मृति दिवसको अवसर पारी ‘जेल’ कविता राखिएको छ । – सम्पा.