गेथाती

जन्मदिनको अवसरमा

टेकेन्द्र जी.एम.
२७ आश्विन २०८०, शनिबार

हुन त आज मेरो जन्मदिन हो
तर नपठाऊ कसैले
मेरो जन्मदिनको अवसरमा
कुनै पनि शुभकामना सन्देश
उचित समय होइन यो
शुभकामना आदान प्रदान गर्ने

गर्दिनँ म यसपटक
कुनै पनि दिवा वा रात्रिभोजको आयोजना
काट्दिन म आफ्नै मित्रहरूलाई
लहरै उभ्याएर गोली दागेजस्तो गरी मैनबत्ती
र साट्दिन कसैसित
चैतको हावाजस्तो उखरमाउलो खुशी

देशले आफ्ना अक्षम सन्तानहरूको निधनमा
बर्खी बारिरहेको यो घडीमा
स्वीकार्य छैन मलाई
मुट हल्लाउने शुभकामना– गीत ।
०००

मिझिङ, रोल्पा