गेथाती

गजल : सन्तोष हरदम

सन्तोष हरदम
१९ मंसिर २०८०, मंगलवार

उठ् ओ ईश्‍वर ! तँ नउठ्ने गरेर निदाउनुभएन
हे मुर्दा, पीडा किस्ताकिस्तामा आउनुभएन ।

फूल लिई आशाको राजमार्गमा उभिएको छु
बिन्ती मेरा सपनालाई निराश बनाउनुभएन ।

भोलि पहाड बनेर उभिन सक्छन् समस्याहरू
तसर्थ गोप्य कुराहरू सकभर बताउनुभएन ।

म पुग्ने धरातलसम्म भोलि तिमी नपुग्न सक्छौ
यसबेला टेकेको जमिन छोड्दैमा रमाउनुभएन ।

प्रतिष्ठा बचाएर राख्नुस् काम लाग्छ कुनै बेला
लक्ष्य पूरा नगर्नेले अरूको लक्ष्य भत्काउनुभएन ।
०००
रोल्पा

TAGS: गजल