गेथाती

पूर्णबहादुर बुढामगरका आधा दर्जन मुक्तकहरू

पूर्णबहादुर बुढामगर
२६ माघ २०८०, शुक्रबार

मुक्तक–एक

तिम्रो सिउँडोमा सिन्दुर देखेँ हातबाट खस्यो झोला
हो यो मेरो जिन्दगी तिमी आफैँ भन अब के होला
बिर्सन गाह्रो हुँदैछ ती अनमोल समयका पानाहरू
तिमी अर्कैको भइगयौ जिन्दगी एकपलको चोला

०००

मुक्तक–दुई

तिमीलाई पर्खिदैछु दिलाएर यो मन अचेल
तिमीलाई पर्खिदैछु सिलाएर यो मन अचेल
बाचाकसम खाएको भेट्ने भनी त्यो दिन
तिमीलाई पर्खिदैछु बिसाएर यो मन अचेल ।
०००

मुक्तक–तीन

यता मुस्कुराउँछु आमा कोही छैन साथमा
दुःखको मुहान फेर्न आतुर दिन अनि रातमा
आउँछ याद गाउँघर अनि पाखापखेरीहरूको
निदाउनुछ आमा एकपल भए पनि तिम्रो काखमा ।

०००

मुक्तक–चार

नजिक आउँदा मनको कुरा साट्न मन थियो
खुशीको प्रहर उसैको साथ काट्न मन थियो
मृत्युतुल्य बनाई गएछ ऊ नफर्किने बाचाहरूमा
दिएर जिन्दगी उसैको साथ बाँच्न मन थियो ।
०००

मुक्तक–पाँच

एक्कासी छटपटी लाग्दैछ किन होला
विनाकारण अनुमति माग्दैछ किन होला
वर्षौँदेखि नछुट्टिएको छाँया हिजोआज
अनायासै लगातार भाग्दैछ किन होला ?
०००

मुक्तक–छ

चलाउन मुटुको हलचल तिमी नै चाहिन्छ
मेटाउन यौवनको टलटल तिमी नै चाहिन्छ
एक्लै बाँच्न सहज हुन्छ नसोच्नू कहिल्यै
मलाई सास फेर्न हरपल तिमी नै चाहिन्छ ।

०००

रोल्पा न.पा.–९¸ रोल्पा

TAGS: नेपाली मुक्तक पूर्णबहादुर बुढामगर मुक्तक