जब –
बिर्सन थालेपछि ताल
बिर्सन थालेपछि लय
कसरी गाउँछ गीत – नेपाली ?
अन्धकारतिर डेरा सरेपछि
कसरी फिजाउँछ – उन्मुक्त पङ्खा ?
यदि रहेन भने ऊ
यो सुन्दर शान्त देश
कुन शिखरमा चुम्छ नेपाली ?
चढ्न थालेपछि नशा – विदेशको
हलो कहाँ समाउँछ र नेपाली
बेर छैन बिर्सन – आफ्नै मातृभाषा
बोल्न थालेपछि हिन्दी, अङ्ग्रेजी
कहाँ बोल्न आफ्नो भाषा ।
च्यात्तिएको जिन्स लाउनेले
कहाँ लाउन जान्छ – चौबन्दी चोली र गुन्यू
पप र फरेन सुन्ने कानले
कहाँ सुन्छ मादलुको तालमा ठाडी भाका
मम र पिज्जा खाने मुखले
कहाँ रुचाउँछ ढिँडो र सिस्नु
स्वीमिङ पुलमा रमाउनेले
कहाँ रमाउनसक्छ प्रकृतिका कञ्चन दहहरूमा ।
यता –
रङ फेर्ने छेपाराहरूले
देशलाई उस्तै बिरामी बनाएका छन् ।
सज्जनहरूले गुमाएपछि – स्वाभिमान
कुन गौरवगाथा सुनाउँछ नेपाली
राष्ट्र र राष्ट्रियता माथि मजाक गर्नेहरू
कहाँ जोड्न सक्छन् – आपसी सम्बन्ध
देशको घाउमा कहाँ लगाउन सक्छन् मलम ।
साँच्चै
यो देश नै बेचिन थालेपछि
अब
कुन देशको नागरिक कहलाउँछ नेपाली ?
०००
भूमे-९ रुकुम, पूर्व
