गेथाती

धनकुटामा ‘रगतको तर्पण’ बहस


६ माघ २०८१, आईतवार

रोल्पाका कवि प्रेमप्रकाशकृत रगतको तर्पण कवितासङ्ग्रहमाथि धनकुटामा बहस सम्पन्न भएको छ । कवि उत्तम तुम्सा लिम्बुको सहजकर्तामा वक्ताहरू मुकुन्द प्रयास, के.जी सुब्बा र सावित्रा राई रहनुभएको थियो ।

सङ्ग्रहभित्र भएका कवितामा कविले उठाउन खोजेको विषयवस्तु र भौगोलिक अथवा सांस्कृतिक मिथमा पुर्व र पश्चिमको तात्त्विक भिन्नताबाट विषय चिर्दै सुरु भएको बहसमा नेपाली साहित्यमा यस सङ्ग्रह र कविको स्थान कहाँ र कस्तो स्थितिमा छ भनेर टुङ्गिएको थियो ।

नयाँ पन र फरक स्वादको कृति पुर्वले पढ्न पाएकोमा तीनैजना वक्ताहरूको एक स्वर रह्यो । अदृश्य तरिकाले पढिरहेको, सुनिरहेको रोल्पालाई केही हदसम्म बुझ्न पनि सो कृति पढ्नुपर्ने वक्ताहरूको भनाइ थियो ।

‘यस कृतिको सबभन्दा सुन्दर र बकबास पक्ष के छ ?´ उत्तम लिम्बुको अन्तिम प्रश्नको जवाफ दिदै सबै वक्ताहरूले कृति पढ्न लायक र पढ्नैपर्नेको सूचीमा राखे । बकबास भन्ने कुनै पनि कवितामा नरहेको उल्लेख गरे । बरु त्यो बकबासवाला प्रश्न नै बकबास रहेको वक्ताहरूले धारणा राख्नुभएको थियो ।
मिसन पोएट्री मूल आयोजक रहेको उक्त कार्यक्रमको सह-आयोजकमा सम्भव समूह रहेको थियो ।

TAGS: समाचार