तक
रुकुमपूर्वमा अवस्थित ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक रूपमा धनी गाउँ तकसेरा आज विश्वव्यापीकरणको प्रभावमा परिवर्तनको चरणमा प्रवेश गरेको छ। तक, बाच्छीगाउँ, तल्लो सेरा, उपल्लो सेरा र घुम्लिबाङ्ग गरी पाँच गाउँहरूको समष्टिगत नाम “तकसेरा” हो।
हालका दिनहरूमा विश्वव्यापीकरण र आधुनिकताको प्रभावसँगै तकसेराका हजारौं युवा रोजगारी, शिक्षा तथा जीवनस्तर सुधारको खोजीमा विदेशिने क्रम तीव्र हुँदै गएको छ। तर, यस प्रवृत्तिले गाउँमा श्रमशक्ति अभाव भई आर्थिक गतिविधिमा प्रत्यक्ष असर पारेको देखिन्छ। शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन जस्ता क्षेत्रहरूमा अझै पनि महत्वपूर्ण सुधारको आवश्यकता देखिन्छ।
यस्तो परिस्थितिमा विदेशमा आर्जित पूँजी र सीपलाई प्रभावकारी रूपमा तकसेराको विकासमा लगानी गर्न सकिने ठुलो सम्भावना रहेको छ। विदेशमा हासिल हुने आर्थिक लाभ तथा सीपहरूलाई केवल व्यक्तिगत फाइदामा सीमित नराखी, जन्मभूमि तकसेराको समग्र विकासमा प्रयोग गर्नु अहिलेको आवश्यकता हो। गाउँको विकास विना देशको विकास सम्भव छैन भन्ने मान्यतालाई आत्मसात गर्दै, गाउँवासीहरूले आफ्नै गाउँलाई आत्मनिर्भर र समृद्ध बनाउने दिशामा कदम चाल्न जरुरी भइसकेको छ।

विदेशमा आर्जन गरिएको धनराशि र आधुनिक सीपहरूलाई कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य तथा साना उद्यमहरूमा लगानी गरेर गाउँलाई नयाँ गति दिन सकिन्छ। तकसेरामा आधुनिक प्रविधियुक्त स्याउ बगैँचा, मौरीपालन, जैविक मल र बीउ उत्पादन, र अन्य जैविक कृषि विकासका अपार सम्भावना छन्। पर्यटन क्षेत्रमा होमस्टे व्यवसाय, सांस्कृतिक पर्यटन, गाइड सेवा र ट्रेकिङ जस्ता कार्यक्रमहरू सञ्चालन गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिन्छ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय विद्यालय, सीपमूलक तालिम केन्द्र तथा आधारभूत स्वास्थ्य सेवा केन्द्रहरूको आवश्यकता झन् बढी महसुस गरिएको छ। यस्तै, साना तथा मध्यम उद्यमहरू, हस्तकला उत्पादन, अर्गानिक उद्योग र गाउँले उत्पादनहरूको व्यवसायीकरण गर्न सकिने अवसरहरू पनि प्रशस्त छन्।

विदेशमा कमाएको धनराशि केवल भौतिक सुख-सुविधामा खर्च गर्नुको सट्टा गाउँको भविष्य निर्माणमा लगानी गर्नाले आर्थिक विकाससँगै सामाजिक चेतना र नेतृत्व क्षमतामा समेत अभिवृद्धि हुनेछ। यसले युवाहरूलाई गाउँमै रोजगारी सिर्जना गर्ने अवसर प्रदान गर्नेछ, जसले दीर्घकालीन रूपमा गाउँबाट सदरमुकाम, दाङ, काठमाण्डू हूदै वैदेशिक पलायन रोक्न समेत मद्दत गर्नेछ।

तकसेराका पुर्खाले दिएका सांस्कृतिक र प्राकृतिक सम्पदालाई सम्हालेर नयाँ पुस्ताले थप समृद्ध बनाउन सक्नेछ। विदेशमा कमाइ र सीप आर्जन गर्ने प्रत्येक तकसेरावासीको नैतिक दायित्व हो कि उनीहरूले आफ्नो सीप र साधनलाई जन्मभूमिको विकासमा प्रयोग गरून्।

विदेशमा आर्जित सम्पत्ति केवल निजी सुख-सुविधामा खर्च नगरी तकसेरालाई आत्मनिर्भर, समृद्ध र भविष्यमुखी बनाउने साझा अभियानमा उपयोग गर्नु अहिलेको माग हो। क्लब, संघसंस्था र देश विदेशमा रहेका तकसेरा वासीहरू मिलेर यो महाअभियान थाल्न आवश्यक छ।
सम्पत्ति र सीपलाई जन्मभूमिमा लगानी गर्नु केवल कर्तव्य मात्र होइन, नयाँ पुस्ताको लागि उज्यालो भविष्य निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी पनि हो। आत्मनिर्भर तकसेरा निर्माणको अभियानमा सबै तकसेरावासी जुट्न जरुरी छ।
त्यसैले अबको आवश्यकता भनेको “आत्मनिर्भर तकसेरा” बनाउने साझा अभियान हो। यस अभियानमा तकसेरा संग सम्बन्धित देश-विदेशमा रहेका क्लब, संघसंस्था र सम्पूर्ण वासिन्दाहरूले एकजुट भई पहल गर्न जरुरी देखिन्छ। केवल सम्झनामा गाउँप्रेम देखाउने समय सकिएको छ।अब वास्तविक कर्मद्वारा गाउँको मुहार फेर्नु पर्ने समय आइसकेको छ।
