गेथाती

भूमिपुत्र (उत्कृष्ट १० मा छनौट भएको कविता)

यो पृथ्वीको ईराभन्दा प्राचीन
यही भूमिमा उत्पत्ति भएको
आदिम मानवको वंश
आदिवासीको नाति
किराँतीको छोरा
म हुँ यहाँको भूमिपुत्र

यो माटोमा उत्पत्ति भएको
म स्वयम् यो माटोको हो
मैले खोज्नु पर्दैन यो माटोमा
मेरो पहिचान यहाँको माटो म हुँ
यो माटोमा मेरो अस्तित्व अमर छ
मेरो परिचय यो माटोले दिन्छ
म हुँ यहाँको प्रथम राष्ट्र
म हुँ यहाँको भूमिपुत्र

मेरै वीर पुर्खाको रगतले
कोरिएको हो गौरवशाली
यो देशको सीमा नक्साहरू
मेरै पुर्खाको छातीमाथि
चुलिएको हो यो चोमोलुङमा

यो माटोमा मेरो पुर्खाको
मांसपेशीहरू मिसिएको छ
यो पहाडहरू मेरो पुर्खाको
हाडले उभिएरहेको छ
यो नदि मेरो पुर्खाको रगत पसिनाले
युग युगान्त बगिरहेको छ
म हुँ यहाँको भूमिपुत्र !

प्रकृतिप्रेमी मेरो संस्कृति हो
प्रकृतिपूजक मेरो धर्म हो
म हुँ यो गोल भूगोलको
प्राचीन प्रथम मानव
यो जिमी भूमिको भूपति
यो गौरव भूमिको रक्षक
रख्वाला म हुँ भूमिपुत्र !

सर्वप्रथम मेरो पुर्खाले नै खोजी गरेको थियो
यो माटोमा जीवनको अस्तित्व
र पत्ता लगाएका थियो
जीवन जिउने सिद्धान्तका सुत्र
त्यही दिनबाट सुरु भएको हो
यो ब्रह्माण्डमा मानव सभ्यता

त्योबेला सुरु भएकै थिएन
अर्थशास्त्रका अर्थनीति शास्त्र
जन्मेकै थिएन यहाँ ईश्वरहरू
लेखिएकै थिएन धर्मशास्त्र
बनाएकै थिएन मन्दिरहरू

पाश्चात्य दर्शनभन्दा पुरानो
मेरो पुर्खाको चिन्तनलाई
तिमी कसरी अवैज्ञानिक भन्छौ
जीवनको सर्वोत्तम अभ्यासलाई
तिमी कसरी रुढीवादी भन्छौ ?

समयको एउटा घडीमा
एक्कासी एउटा परदेशीले
यो माटोमा टेकेर घोषणा गर्‍यो
मेरो सभ्यता सर्वश्रेष्ठ हो
म ब्रह्माण्डको मालिक हो
भन्दै दाबी गर्‍यो मेरो पुर्खाको
अधिकार र अस्तित्वमाथि

कलम चलाएर तरवार चलाएर
उसले सुरु गर्‍यो शासनसत्ता
मेरो पुर्खाको गौरवभूमिमा
तब मेटायो मेरो पुर्खाको
गौरवशाली इतिहासलाई
अनि धावा बोल्यो मेरो सभ्यतामाथि
आक्रमण गर्‍यो मेरो संस्कृतिलाई
अतिक्रमण गर्‍यो मेरो पहिचानलाई
यो माटोमा गुमनाम बनायो
मेरो भूमिपुत्रको अधिकारलाई

अब त्यो समय आएको छ
चुप बस्ने छैन यो माटो
मुख खोल्ने छ यो भूमिले
मेरो पुर्खाको बयान गर्नेछ
यो देउराली भञ्ज्याङले
उभिएर विद्रोह गर्नेछ
मेरो पुर्खाको रातो इतिहासले
ओकाल्नेछ आगो पहाड पर्वतहरू
गर्जिनेछ आन्दोलनमा नदिनालाहरू
अनि फिर्ता गर्नेछ यो भूमिपुत्रको
जन्मसिद्ध अधिकार

अनि सुरु हुनेछ आफ्नो माटोमा
यो भूमिपुत्रको स्वाधिनता
सुखको सास फेर्ने छ यो भूमि
त्यो दिन माटोले शासन गर्नेछ
प्रकृतिको नियम पालन हुनेछ
त्यो स्वार्निमयुगमा यो भूमिपुत्र
सर्वश्रेष्ठ मानव सावित हुनेछ

म गर्वका साथ भन्नेछु
म हुँ यो भूगोलको आदिवासी
मेरो सभ्यता किराँत हो
यो धर्ती मेरो पितृभूमि हो
म हुँ यो गौरवभूमिको भूमिपुत्र ।
०००
सोताङ-३¸ सोलुखुम्बु

नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाले आयोजना गरेको ‘विश्‍वव्यापी खुल्ला कविता प्रतियोगिता २०२४-२०२५’ मा कवि छविनको यो कविता उत्कृष्ट १० कविताभित्र पर्न सफल भएको थियो ।