गेथाती

अस्तित्व (सान्त्वना कविता)

विनेश राई ‘मिन्जाई’
१२ जेष्ठ २०८२, आईतवार

के छ त्यस्तो मेरो भाषामा
र छिमेकी गाईखाने सुन्छ ?

के छ त्यस्तो मेरो नाममा
र शासकको नाक खुम्चिन्छ ?

के छ त्यस्तो मेरो धर्ममा
र महाराज असुर देख्छ ?

के छ त्यस्तो मेरो घरमा
र जोगी फेरी लगाउँछ ?

के छ त्यस्तो मेरो इतिहासमा
र लेखक उल्टो लेख्छ ?

के छ त्यस्तो मेरो सभ्यतामा
र राज्यसत्ता मेट्न चाहन्छ ?

के छ त्यस्तो मेरो भूगोलमा
र नेता साम, दाम¸ दण्डभेदको किल्ला गाड्छ ?

हौँ यावा-
कतै तिनीहरूले आफैँलाई
डाइनोसर त घोषणा गरिरहेका छैनन् !
°°°
धरान

नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाले आयोजना गरेको ‘विश्‍वव्यापी खुल्ला कविता प्रतियोगिता २०२४-२०२५’ मा कवि विनेशको यो कविता सान्त्वना हुन सफल भएको थियो ।