आफूलाई संसारको पहिलो नम्बरमा उभ्याउन
प्रतिस्पर्धामा उत्रिनेहरूको दोहनमा पर्यो- तिमी ।
दुखेपछि न हो ऐया… भन्ने
आँसु खसाल्यो चर्को दुखाइले
मानवबस्तीमा रिसाएर बग्यो- तिम्रो आँसु ।
समानताको मुस्कान बाँड्ने
ए हिम्चुली !
यो कस्तो विरोधाभासको लीला ?
आज तिम्रो आँसुको बाढीले
निर्दोषहरूलाई पनि दोषीकै घानमा भुट्यो ।
तिमी त-
सबैभन्दा अग्लो भएर उभिएका छौ
देख्नुपर्ने हो, त्यहाँबाट
भोटेकोशी र त्रिशूलीको किनारमा
हजारौँहजार तिम्रा पूजकहरू
हजारौँहजार तिम्रा श्रद्धालुहरू ।
र भन्नुपर्ने हो, क्रोधीत आँसुलाई
शीघ्र गति होइन, बिस्तारै-बिस्तारै जा
भयभित गर्जन होइन, सुसेल्दै-सुसेल्दै जा ।
यो कस्तो अकल्पनीय !
यो कस्तो अवर्णनीय !
हेर न-
तिमीले लात हानेको पत्थर आएर
बाबा आमाको न्यानो काखबाट
छुटाएर लग्यो- दुधेबालकहरूलाई
मुटुका टुक्राहरूबाट
अन्तिम चित्कार छुटेको घुम्टी हेरि
टोलाएका छन्- सहारा गुमाएका बेसहाराहरू ।
लेदोबाट निस्किएर आएको दाइ
एकसुरे भक्कानिँदै छ- छाती पिटेर
देखेर- ढुङ्गाको गलामा अल्झिएको बैनीको सल ।
ब्युँझिएर गहिरो मुर्छाबाट
भत्केको घर छेउमा बसेर बर्बराउँदैछिन्- दिदी
देखेर- बेहोसी रुखको हातमा भाइको बिजोर चप्पल ।
जीवनको अन्तिम घडीसम्म
साथ दिने हातहरू छुटे
र छुटे सपना बोकेका सयौँ पैतालाहरू ।
निसास्सिएर प्राण त्यागे- अन्धकार सुरुङभित्र
देश निर्माणमा जुटेका श्रमजीवी मजदुरहरू
माछाका आहारा भए कि, या भए गिद्धका आहारा
नारायणी हुँदै भारत पुगे कि, या पुगे अरु कुनै मुलुक
लापत्ता छन्- कयौँका प्रिय आफन्तजनहरू ।
यो कस्तो विडम्बना !
यो कस्तो अपत्यारिलो !
मान्छेहरू-
ठेगाना हुँदाहुँदै पनि बेठेगाना भए
नाम हुँदाहुँदै पनि बेनाम भए
प्रकृतिको जिद्दीले
एकमुठ्ठी साससँग बिदाई मागि जानेहरूको
अझै हुनसकेको छैन- सनाखत ।
बास ढल्यो/ आश ढल्यो
सास छुट्यो/ गास छुट्यो ।
नाफा र नोक्सानको होडबाजीमा दौडिरहने
ओ… दुनियाँका अचेतहरू !
अब प्रकृति माथि कुकर्म कहिल्यै नगर्नू
देख्यो नि ?
प्रकृति दुखेपछिको भयावह दृश्य… ।
०००
