आफ्नै हौ कि पराइ
अनौठो, तिम्रो माया गराइ
हरबखत गल्ती मात्र खोजी गर्ने
तमाम मेरा कमजोरी देख्दा पनि
मायाकै बीउ छर्ने
खै, के नाम दिउँ तिमीलाई
मात्र एक सलाम दिउँ तिमीलाई ।
रिसाउँदामा म, रोएरै हौ जित्ने
माया गरे शिर टेक्ने
अबोध बालकझैँ
खाली जिद्दी गर्ने
जति जिद्दी गरे पनि विचार मेरै मान्ने
खै, के नाम दिउँ तिमीलाई
मात्र एक सलाम दिउँ तिमीलाई ।
जीवनसाथी हौ कि
जीवन जासुसी हौ कि
खाली खल्तीको तलास गर्ने
हिसाबमा थुप्रै भ्रष्टाचार चाल पाउँदा पनि
बचाउ मेरै गर्ने
खै, के नाम दिउँ तिमीलाई
मात्र एक सलाम दिउँ तिमीलाई ।
अञ्जान कुनै स्त्रीसँग बोल्दा
केहिबेर साथीभाइसँग भुल्दा
सबको जन्मकुण्डली चाहिने तिमीलाई
दोषीमै किन न हुँ
तर पनि मेरै पक्षमा वकालत गर्दा
खै, के नाम दिउँ तिमीलाई
छाती चौडा पारी भन्न मन लाग्यो,
जीवनसङ्गिनी तिमीलाई ।
सलाम नारी,
सलाम जीवनसङ्गिनी… ।
०००
भूमे-१ लुगुम¸ रुकुमपूर्व
