देउता भनेर पुजिँदै आएको
नारायणथानभित्रको ढुङ्गासित
समवेदनाको मुटु हुँदैन
सहानुभूति प्रदान गर्ने कोमल मन हुँदैन
त्यसैले
भोका नाङ्गाहरूको पीडामा
न ऊ छट्पटिन्छ
न त उसको आँखा रसाउँछ
तापनि अबुझहरू
तथाकथित् विष्णु अवतारको स्वरुप मानेर
त्यही ढुङ्गालाई पुज्छन्, ढोग्छन्
र भोका–नाङ्गाहरूकै
पसिनाको दामभेटी र अक्षता चढाउँछन् ।
नारायणथानको ढुङ्गा
चौतारको चेप्टो ढुङ्गा होइन
जहाँ मान्छेहरू
डोकाभरि दुःख बिसाउँछन्
न त त्यो ढुङ्गेधारो नै हो
जसबाट चिसो र मीठो पानीरुपि सुधा
निरन्तर प्रवाह हुन्छ
त्यो त्यस्तो ढुङ्गा पनि होइन
जसबाट सृष्टिको घर र पर्खाल ठडिएको होस् ।
केवल त्यो नारायणथानभित्रको ढुङ्गा हो
बेहिसाब देउता कहलिएको ढुङ्गा हो
बेकाम पुजिँदै आएको ढुङ्गा हो
त्यसप्रति मेरो कुनै श्रद्धा छैन ।
०००
गैरीगाउँ, रोल्पा
नारायणथानको ढुङ्गा
