म तिम्रै हुनेछु भन्दै
बुकीमा बाईसथरी फूल टिपी दिनेको
बहुरूपी रहेछ मन
उडी गयो प्रेमको डाली भाँचेर
उनको सपनाको देश ।
निकै छोटो रह्यो– सम्बन्ध
रातो पहरोमाथिको
लालीगुराँसको आयुजस्तो ।
तर, सम्झनाहरू
निकै मीठा छन् / निकै लामा छन् ।
आधी रातमा हुरी चल्दा
छानोमा सिउरी राखेको
बाईसथरी फूल सम्झी झस्कनु ।
उराठिला डाँडाहरूको सफरमा
कुहिरोको च्यादर सप्को पारेर
जलजला पहाड उक्लेको सम्झनु ।
पातासारमा एक्लै हुँदा
कोल्टे फेर्दै जूनसँग जिस्कनु
बैँसको हाँगामा हलेसोले गीत गाउँदा
उनी गुनगुनाए झैँ आभास हुनु ।
हिउँसँगै हृदय पग्लिनु
एकान्तमा थोत्रो डायरी पल्टाउनु
माकुराको जालो लागेको
भित्तामा झुण्डिएको रुमाल टकटकाउनु ।
यी जम्मै–जम्मै, उनका सम्झना त हुन् ।
जानेहरूको याद
नजानिँदो गरेर आइहाल्दोरहेछ जीवनमा ।
०००
रोल्पा (हालः पोखरा)
