गेथाती

कविता : बालापन

लक्ष्मी अर्गेजा मगर
२८ जेष्ठ २०८१, सोमबार

म सानो छँदा
खाना खाइसकेपछि
थाल चाटेर, थालमै हेरेँभने
आफैलाई देख्थेँ
धुलाम्य अनुहार
गालामा लट्पटिएको सिगान
लत्ता परेको खैरो कपाल
अनि त्यो खुशी
त्यो चञ्चलता प्रष्ट देखिन्थे
तर अहिले ऐना पुछेर हेर्छु
हड्डी र मासु देख्छु
म आफूलाई कहिलै देख्दिनँ ।

बच्चामा
डण्डीबियो खुब खेलिन्थ्यो
अहिले म बियो भएको छु
परिस्थितिको डण्डीले
खुब हिर्काउँछ
उफ्रिन्छु, तिक लाग्छु,
खाल्डोमा पस्छु
म चुपचाप सहन्छु
जिन्दगीले कहिले
गुच्चा जसरी पिलाइदिन्छ
कहिले समयको बल आएर
पिट्ठू जसरी ढलाइदिन्छ ।

घरको कालो कसौंडीमा
खुशी पाकिरहेको हुन्थ्यो
अनि पर ओडारमुनि
कुटिनी बुढीले खाना पकाउँथिन्
हामी खाएर अघाउँथ्यौँ
घरको मकिएको बोलोमा
आमाको पटुकी बाँधेर
चचहुई-चचहुई गर्दै
फन्को लगाउँथ्यौँ
कागजको डुङ्गामा चढेर
समुन्द्र पुगिन्थ्योँ
अँधेरी रातमा जूनकीरी बालेर
भविष्य खोजिन्थ्यो
तर अहिले
झिलिमिली सहरहरू पनि
अँध्यारो देख्छु र ऐँठन पर्छु ।

दशैँमा
अरूले नयाँ कपडा लगाउँदा
मैले आफ्नो आङ
धेरै पटक हेरेको छु
दिदीहरूलाई सानो भएको
लुगा पाउँदा पनि
मैले खुशी हुँदै फेरेको छु
जुम्रा र लिखाहरूले
टोकेर खुब सताउँथे
घाममा नुहाएर मारेको दिन
आनन्दको निद्रा लाग्थ्यो
अहिले रहर र सपनाहरूले
खुब सताउँछन्
ती दुबैलाई मारेको प्रत्येक दिन
म आफू पनि मरिरहेको हुन्छु ।


खुशीहरूसँग लुकामारी
अहिले पनि खेल्छु
मलाई छक्याएर
लुकेको छ खुशी
खोजेको हुँ
पुरानो फुर्लुङ र थुन्सेभित्र
घरको आलमारी र खेतको
आलीहरूमा
बाका पसिना र
मेरा प्रमाणपत्रहरूमा
कतै नभेटेपछि मिसिएको हुँ
देश सराप्नेहरूको भीडमा
अनि पसेको हुँ मुग्लान ।

अहिले मलाई
समयमै सफलताको
हत्तासो समाउन नसक्दा
अभावको मार्टोलले खुब हिर्काउँछ
भित्रसम्म दुख्नेगरी
मैले मट्टितेल थप्न
सङ्घर्ष गरिरहेको छु
त्यतिञ्जेलसम्म
हुरी नचलोस् है भगवान्
मेरो घरको दियो निभ्नेगरी ।
‍०००
ढोरपाटन-४ बागलुङ निवासी लक्ष्मी अर्गेजा मगर हाल वैदेशिक रोगजारीको सिलसिलामा जापानको उचुनोमियामा हुनुहुन्छ ।

TAGS: कविता नेपाली कविता