घोडाकै नामबाट
घोराही बन्यो,
घोरदौरा बन्यो,
घोडेपानी बन्यो,
घोडाखोला बन्यो¸
घोडागाउँ बन्यो¸
घोडाघोडी नगरपालिका बन्यो¸
ताल बन्यो,
पार्क बन्यो,
घोडाबाटै बग्गी चल्यो,
एक्का चल्यो, टमटम चल्यो,
घोडेजात्रा चल्यो,
घोडसवारहरूको
सान बढ्यो, मान बढ्यो
घोडचढी लडे, जिते
इतिहास रचे ।
तर,
खच्चरका नाममा
न सालिक बन्यो
न खच्चरको ग्वाला मालिक बन्यो ।
घोडाहरू कुलका फूलमा सजिँदा
खच्चरहरू झोलुङ्गे पुलमा अड्किए
घोडाहरू मालिकका अत्तरमा रमाइरहँदा,
खच्चरहरू कर्णालीमा सोत्तर भए ।
०००
लिबाङ, रोल्पा
