गजल–एक
जीवन के रहेछ माटो र खरानीबाहेक
रात अङ्गाले पनि छन् बिहानीबाहेक ।
अस्पतालमा डाक्टर भन्थे भिटामिन दिनु
सकिएन आमालाई दिन चौलानीबाहेक ।
इतिहास पनि भएन यहाँ वीरताको गाथा
केही सुनाऊ मैले नसुनेको कहानीबाहेक ।
यसरी किन सिद्ध्याउँछन् आफूले आफैलाई
हुँदैन सायद कोही यौवनमा जवानीबाहेक ।
०००
गजल–दुई
जिन्दगी किन यो मुहार अँधेरो सधैँ ?
तँ आफैँ होइनस् र हौसला तेरो सधैँ ?
कमाइ भनेको एक चिहान रहेछ
सम्पत्तिले पारिरहन्छ अप्ठ्यारो सधैँ ।
गरिबी घटाउने खबर सुनाउँदै छ
थपिएको मात्रै देखिन्छ कटेरो सधैँ ।
सिकारीले चारोसँगै आमा लिएर गयो
किन यतिमात्रै गुनासो छ मेरो सधैँ ?
०००
गजल–तीन
म आगो जुराउँदै छु तिमी सामान जुटाइदेऊ न
म स्याउला घाँस लिउँदै गर्दा मल उठाइदेऊ न ।
चुलोचौको सिद्धियो, अब कपडा सुकाउँदै छु
रूदैछन् सन्तानहरू खै के चाहियो फकाइदेऊ न ।
कमाउनु छ, जानुछ बाहिर उद्यमी पनि बन्नु छ
धेरै छ हेर त घरको काम केही सघाइदेऊ न ।
हामी एउटै हो भन्दै समानता छ भन्छौ घरमा
रुपान्तरणको नीति र कार्ययोजना बनाइदेऊ न ।
०००
गजल–चार
दुःखलाई भनें¸ ‘मेरो घरमा आउँछस्’ भनेर
उसले भन्यो¸ ‘भनेनौ के लगाउँछस्’ भनेर ।
‘अ’बाट आमामात्र हैन आपत पनि आउँछ
मैले झुठ बोलेको हुँ पत्याउँछस् भनेर ।
आकाशसँग बात नगरेको धेरै भएछ
कोही त सोध आँसु किन खसाउँछस् भनेर ।
दिनेले जन्म दिएका हुन् देश बनाउनलाई
पाखुरा दिएका हुन् घर बनाउँछस् भनेर ।
यो मनभित्र प्रश्नहरू लडाइँ गरिरहन्छन्
ए, दिल किन अरूको दिल दुखाउँछस् भनेर ।
०००
गजल–पाँच
यो जिन्दगीको कल्पना बेगर आमा हुन सक्दैन
मेरो हर बिहानी उनको दखलबिना हुन सक्दैन ।
धेरै छन यहाँ आमाको दाजोमा प्रेम गर्छु भन्नेहरू
सौदाबाजी हुन्छ प्रेममा खास ममता हुन सक्दैन ।
तिलाञ्जली दिएर सपनाहरू सन्तानको लागि
आफूलाई भुल्ने आमा जस्तो दुनियाँ हुन सक्दैन ।
जरुरत हुँदैनन् कुनै विकल्पमा न्यानोपनाको
आमाको आँचल जस्तो न्यानो कपडा हुन सक्दैन ।
०००
रोल्पाकीदिलकुमारी बुढामगरले यी गजलहरू ‘सहिदस्मृति साहित्य प्रतिष्ठान¸ रोल्पा’ले २०८० चैत्र २९ गते लिबाङमा आयोजना गरेको ‘रोल्पा गजल महफिल–२’मा वाचन गर्नुभएको थियो ।
कार्यक्रममा वाचन भएका अन्य गजलकारका गजलहरू
लालीमाया थापामगरका पाँच गजलहरू
लालीमाया थापामगरका पाँच गजलहरू
कपिलमणिका पाँच गजलहरू
कपिलमणिका पाँच गजलहरू
जि.एम. दीपु देपेन्द्रका पाँच गजलहरू
जि.एम. दीपु देपेन्द्रका पाँच गजलहरू
