गेथाती

देशजस्तो (प्रथम कविता)

के हो त्यो-
किनारै किनार हिँड्न बिर्सिएको नदीजस्तो
के हो त्यो-
लय बिग्रिएको गीतजस्तो
हरियो इस्टकोट खोलेर बसेको पहाडजस्तो
सेतो ह्याट् फुकालेर फ्याँकेको हिमालजस्तो

मलाई जवाफ दिनोस्,
कसले काट्यो पखेटा चराहरूको ?
र भिराईदियो पखेँटा पासपोर्टको
के हो त्यो-
विमानस्थलमा आँखाको बाँध भत्काएर
बगेको खोलाजस्तो
त्यही खोलाको भेलमा
बगेको सपनाजस्तो

अचेल जहीँतहीँ देख्छु म-
माटोको खुन चुसिरहेका जुकाहरू
झाडीमा रगत लत्पतिएका सलबारहरू
सुदूर गाउँका आदिम भोकहरू
सिटामोल पनि नदेखेका रोगहरू
के हो त्यो-
गरीबको छालाबाट बनेको कोटजस्तो
गरीबकै छालाबाट बनेको नोटजस्तो

सायद मलाई स्किजोफ्रेनिया हुनसक्छ
नत्र किन देख्छु म अनौँठा दृष्यहरू
म देख्छु-
मसानघाटमा शहीदको कङ्कालबाट झरेको आँसु
इतिहासको काँधमा फर्फराइरहेको क्रान्तिको झण्डा
त्यही झण्डाले बेरेर लुकाइएको
महँगो मदिराको बोतल
म देख्छु-
कालो इनामेल पोतिएको आकाशको छाती
दम लागेको बतासको फोक्सो
कहिले म देख्छु-
तलाउ हेरेर कपाल कोरिरहेको जून
रातको भित्तामा पहेलो रङ पोतिरहेका जूनकिरीहरू
फेरि तिनै जूनकिरीलाई नै कालो पोतिरहेका अन्धकारहरू

मलाई सोध्न मन लाग्छ,
के हो त्यो-
झलमल्ल हुन नपाएको
अध्याँरोले पनि छोपी नभ्याएको
के हो त्यो-
अगाडि दौडन नसकेको
पछाडि पनि सर्न नजानेको
गियर फसेको गाडीजस्तो
कस्तो कस्तो
मेरै देशजस्तो ।
०००
कर्जन्हा-२, बन्दिपुर (सिरहा)

कवि अविनाश भट्टराईको यो कविता रोल्पामा आयोजित ‘रोल्पा सिर्जना महोत्सव’ पाँचौँ संस्करण अन्तर्गत ‘पाँचौँ राष्ट्रिय कविता प्रतियोगिता’का लागि प्राप्त १६३ वटा कवितामध्ये उत्कृष्ट १० मा परेको थियो । अन्तिम मूल्याङ्कनमा उनको कविताले प्रथम स्थान प्राप्त गर्‍यो । कविता लिङ्कः

सिफारिस

स्याण्डग्लास : सृष्टिको काउन्ट-डाउन (द्वितीय कविता)

हल्ला नगर्नुस् न, नानीहरू खेलिरहेछन् (तृतीय कविता)

इच्छापत्र (सान्तवना कविता)

ऐँठन (सान्त्वना कविता)

रोल्पा

विचित्रको चित्र

तेर्सिन्छ है प्रश्न यो

तिलहरी

समयको भ्रष्टाचार

TAGS: कविता नेपाली कविता